वीरगञ्ज, ८ भदौं : वीरगञ्ज महानगरपालिकामा हैजा (कोलेरा) को महामारी समुदायस्तरमै फैलिएको पुष्टि भएको छ । नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायणी सिंहका अनुसार शुक्रबारदेखि आज दिउँसोसम्म नारायणी अस्पतालमा ४४ जना मध्ये ३० जनामा हैजा संक्रमण पुष्टि भएको जनाउनुभएको छ । यो संक्रमण गत शुक्रबार वीरगञ्ज–१२ को मुर्ली टोलमा पहिलो पटक तीनजनामा पुष्टि भएको थियो ।
संक्रमणको पुष्टि वीरगञ्जका वडा नम्बर ३, ११, १२, र १३ मा देखिएको छ । हाल झाडापखाला र हैजाका लक्षण देखिएका करिब १ सय २९ भन्दा बढी बिरामी वीरगञ्जका विभिन्न अस्पतालहरूमा उपचाररत छन् । नारायणी अस्पतालका सूचना अधिकारी डा. सिंहका अनुसार शैयाको अभावका कारण केही बिरामीहरूलाई अस्पतालको बरण्डामा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ ।
यसैबीच हैजाका लक्षण देखिएका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । नारायणी अस्पतालमा ३५ वर्षीय पुरुष र वीरगञ्ज हेल्थकेयरमा १९ वर्षीया युवतीको शुक्रबार मृत्यु भएको हो । तर उनीहरूको मृत्यु हैजाकै कारणले भएको हो कि होइन भन्ने परीक्षण प्रतिवेदन आउन बाँकी रहेको डा. सिंहले बताए ।
हैजाको संक्रमण तीव्र गतिमा फैलन थालेपछि रोकथामका लागि संघीय, प्रदेश र स्थानीय सरकार तीनै तह सक्रिय भएका छन् । वीरगञ्ज महानगरपालिकाले भदौ ८ र ९ गते सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै, नारायणी अस्पतालमा आकस्मिक बैठक डाकेर महानगर प्रमुख राजेशमान सिंहले स्वास्थ्यकर्मीहरूलाई संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा खटाउने निर्देशन दिएका छन् ।
महानगरले हालसम्म २५ वटा स्वास्थ्य टोली परिचालन गरिसकेको छ भने सचेतना फैलाउने उद्देश्यले नर्सिङ क्याम्पसका विद्यार्थीहरू समेत जोखिमयुक्त वडामा खटाइएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।
त्यस्तै, महानगरले पानीपुरी, चाट, चटपटे लगायतका सडकखाद्य वस्तुको बिक्रीमा अस्थायी प्रतिबन्ध लगाएको छ ।
त्यसैगरी आजै वीरगञ्जमा हैजाको महामारी फैलिएको अवस्थामा मधेस प्रदेश सरकारले बिरामीको उपचारका लागि औषधि र आवश्यक सामग्री उपलब्ध गराएको छ ।
प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आइतबार वीरगञ्ज पुगेका स्वास्थ्य महाशाखा प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई हैजा रोकथामका लागि औषधि र सामग्री हस्तान्तरण गरेका हुन् ।
यो पहल मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशन र प्रदेश सरकारका स्वास्थ्य मन्त्री सत्रुघन प्रसाद सिंहको अग्रसरतामा गरिएको हो । हैजा र झाडापखालाका बिरामीलाई तत्काल उपचारका लागि प्रदेश सरकारले आवश्यक सहयोग उपलब्ध गराएको छ । “आवश्यक परे थप औषधि र सामग्री पठाउन प्रदेश सरकार सधैं तयार छ,” उहाँले भन्नुभयो ।

Leave a Reply