निजगढ,चालु आर्थिक वर्षको लागि नगर सभामा बजेट पेस गर्न नसकेको निजगढ नगरपालिकामा बुधवार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले अनुगमन तथा छलफल गरेको छ ।न्त्रालयबाट सहसचिव प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा आएको टोलीले निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीसहित कार्यपालिकाका सदस्यहरुसंग भेट गरेर नगर सभामा बजेट पेस हुन नसक्नुको कारण र त्यसको लागि आवश्यक सहयोगको बारेमा छलफल गरेको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले जानकारी दिनुभयो । उहाँले नगर प्रमुख सुरथ पुरीले नगर सभाको तयारीको लागि नगर सभा सदस्यहरुबीच छलफल भइरहेको र सभा ढिला हुनुको कारण बारे टोलीलाई जानकारी गराउनुभएको पनि बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले अहिलेसम्म पनि गाउँ र नगर सभा आयोजना गर्न नसक्ने स्थानीय तहको बारेमा स्थलगत अनुगमन सुरु गरेको हो । सोही क्रममा निजगढमा आइपुगेको टोलीले नगर सभा हुन नसक्नुको कारणबारे जानकारी लिएको थियो । निर्धारित समयमा आर्थिक वर्ष २०८२÷८३ को नीति कार्यक्रम र वार्षिक बजेट सभामा पेस गर्न नसक्ने स्थानीय तहको समस्या र समाधानको उपायको खोजी गर्नका लागि मन्त्रालयका तीन जना सहसचिवको नेतृत्वमा अनुगमनमा खटाइएको मन्त्रालयले जनाएको छ ।
सभाले बजेट र आर्थिक ऐन पारित नगर्दा बजेट खर्च गर्न नमिल्ने कानुनी बाध्यता भएकाले सहसचिवको टोलीले आवश्यक समन्वय र सहजीकरण गर्न अनुगमन गर्न लागेको मन्त्रालयले टोलीमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधिका रूपमा सहभागी हुने मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिनुभयो ।यसैबीच नगरसभामार्फत नीति तथा कार्यक्रम पारित नहुँदा उत्पन्न हुनसक्ने अवरोध हटाउन निजगढ नगरपालिकाले न्यूनतम खर्चका लागि अध्यादेश मार्फत सेवा संचालन गर्दैआएको छ ।

Leave a Reply