कलैया,नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले राष्ट्रिय अनुसन्धान विभागका अधिकृतसहित तिन जनालाई नियन्त्रणमा लिएर आइतवार सार्वजनिक गरेको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– ११ स्थित बकुलिया–रमौली लोसन्डा सडक खण्डको छेउमा विद्युतीय कारमा चालक सिटमा एक साताअघि मृत भेटिएका प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतसहित तिन जनालाई नियन्त्रणमा लिएर बारा प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा श्रीकान्त तिवारीे महोत्तरी जिल्ला जलेश्वर नगरपालिका– ३ निवासी हुन् । उनी हाल सिमरास्थित विमानस्थल कार्यालयमा कार्यरत छन । अर्का २७ वर्षीय पुरुषोत्तमकुमार दास जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक हुन् भने ईन्द्रजित जीतपुरसिमरा उपमहानगरपालिका– १९ का बासिन्दा हुन् ।
गत पुस ६ गते बिहान करिब सवा ९ बजे बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– १९ स्थित बकुलिया–रमौली लोसन्डा सडक खण्डको छेउमा रोकेर राखेको बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको विद्युतीय गाडीभित्र रुम्बाको गोली हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।जीपुरसिमरा उपमहानगरपालिका– १ निवासी रुम्बा इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी थिए र विमानस्थल सुरक्षा गार्डको रूपमा कार्यरत रहेका थिए ।
घटनापछि अनुसन्धान अघि बढाएको बारा प्रहरीले दोषीहरूको पहिचान गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो । पुरानो रिसिबीका कारण रुम्बाको हत्या भएको प्रहरीको दाबी छ । रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत तिवारीलगायत संलग्न रहेको पाइएको प्रहरीको भनाई छ । रुम्बाले चलाएको विद्युतीय गाडी पनि तिवारी कै नाममा दर्ता रहेको थियो ।
मृतक रुम्बा र पक्राउ परेकाहरूबीच पहिलेदेखि नै विवाद रहेको र घटनाले त्यसैको प्रतिशोधको स्वरूप लिएको हुनसक्ने प्रहरीको अनुमान छ ।अनुसन्धानका क्रममा प्रहरीले विभिन्न प्रमाणहरू समेत बरामद गरेको छ । मृतकको घाँटीमा लगाइएको सुनको सिक्री पुरुषोत्तम दासको जिन्स पाइन्टको खल्तीमा भेटिएको प्रहरीको दाबी छ । मृतकको पर्स, ६ वटा मोबाइल, र पुरुषोत्तमले प्रयोग गर्दै आएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।पक्राउ परेकाहरूसँग सोधपुछ र थप अनुसन्धानका लागि बारा प्रहरीले उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालतबाट सात दिन म्याद थप गरेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर हरेक पक्षको सूक्ष्म रूपमा छानबिन भइरहेको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले जानकारी दिनुभयो ।