कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकामा शनिबारदेखि पर्साको ग्रामीण क्षेत्रकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता सुरु भएको छ । समाजसेवी स्व. राम बहादुर श्रेष्ठको स्मृतिमा आयोजित प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख अतिथि पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि सांसद यादवले हुलाकी सडक सन्चालनमा आएपछि ठोरीको विकासले गति लिन थालेको धारणा व्यक्त गर्नुभयो । उहाँले विजयवस्तीमा खेलमैदान निर्माण थाल्न ठोरी गापा अध्यक्ष पीएल श्रेष्ठलाई आग्रह गर्दै पालिकाले एउटा ईट्टा लगाए आफू ५ ओटा ईट्टा थप्न तत्पर रहेको बताउनुभयो ।
प्रतियोगिता मुल आयोजक समिति अध्यक्ष झलकबहादुर शाक्यको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा ठोरी गापा अध्यक्ष पदमलाल श्रेष्ठ, जगरनाथपुर गापा अध्यक्ष जालिम मिया, जसपा केन्द्रीय सदस्य अन्जान शाक्य, ठोरीका वडाध्यक्षहरु किशोर तामाङ, बईबहादुर तामाङलगायत जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका अगुवाहरू, संघसंस्थाका प्रतिनिधिहरुलगायतको उपस्थिति थियो ।
ठोरी गापा वडा नम्बर– ४ स्थित विजयवस्ती खेल मैदानमा आगामी असोज २८ गतेसम्म संचालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा बिजेता टिमले नगद २ लाखसहित ट्रफी तथा उपबिजेताले नगद १ लाखसहित ट्रफी प्राप्त गर्ने छन भने प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्ने आयोजक कमिटीका सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई चाँदीका जुत्ता र सर्वोकृष्ट गोलकिपरलाई नगद १० हजार रुपैया प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो ।
शनिबार राप्ती रिभर युवा क्लब मनहरी, मकवानपुर र हाम्रो फुटबल क्लब वीरगन्जबीच सम्पन्न भएको उद्घाटन खेलमा हाम्रो फुटबल क्लब वीरन्जले विजयी सुरुवात गरेको छ । उसले मनहरीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । वीरगंजको तर्फबाट सिर्जन चौधरीले खेल शुरु भएको तेस्रो मिनेटमा नै गोल गरेका थिए । त्यसपछि दबाबमा देखिएको मनहरीले पटकपटक गोल गर्ने अवसर सिर्जना गरेको भएपनि उसका सबै प्रयास विफल प्रतियोगिताको उद्घाटन खेलबाट नै बाहिरिएको छ । मध्यान्तरपछि आक्रामक खेल खेलेको मनहरीले एकपछि अर्को गोल गर्ने प्रयास गरेको भएपनि वीरगन्जका गोल रक्षकले सबै प्रयासलाई बिफल पारेका थिए । खेलमा वीरगन्जका सिर्जन चौधरी म्यान अफ द म्याच घोषित भएका थिए । आइतबारको खेल महावीर युवा स्पोर्ट्स क्लब जीराभवानी र युगज्योती युवा क्लब पिप्ले चितवनकाबीच हुने आयोजकले जनाएको छ ।