नरेश गुप्ता
बरियारपुर,बारामा नेपाल भारत सिमा क्षेत्रको सुरक्षा पोष्ट नजिकै मदिरा पसलहरु संचालन हुदै आएको छ ।
जिल्लाको पचरौता नगरपालिका वडा नम्बर १ स्थित पिपरपाती र वडा नम्बर ४ गुलरिया सिमा नाकामा रहेको सुरक्षाकर्मीको पोष्ट नजिकै भारतीय नागरिकहरुको लगानीमा मदिरा पसल संचालन हुदै आएको हो ।
पसलमा अधिकांश भारतीय नागरिकहरु नै मदिरा सेवन गर्न आउने गरेको सोही स्थानमा भुजा पसल थापेर बस्नु भएका लक्षुमण साहले बताउनुभयो । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बेलदारी र प्रहरी चौकी बेलदारी नजिकै रहेको गुलरिया सिमा नाकामा दर्जनभन्दा बढी मदिरा पसल संचालन हुँदा पनि नियन्त्रणको लागि चासो नदेखाइदा सुरक्षाकर्मीको पनि मिलोमतोको आशंका गरिएको छ ।
गुलरिया सिमा नाकामा रहेको जैसवाल होटलमा भारतीय नागरिकको लगानी रहेको बताइएको छ । जैसवाल होटेलको नामले संचालन हुदै आएको पसलभित्र भने गार्डेन कोल्ड स्टोरको अस्थायी लेखा प्रमाणपत्र भेटिएको छ । जैसवाल होटेलका संचालक रामेश्वर पटेल भारत बिहार पूर्वीचम्पारण तिनकुनेका निबासी भारतीय नागरिक हुन । अस्थायी लेखा प्रमाणपत्र नभएको मदिरा पसल सिमा नाकामा संचालन हुँदा राजश्व छलीसंगै सिमा क्षेत्रमा अपराधिक क्रियाकलापसमेत बढदै गएको स्थानीयहरुले बताएका छन ।
नेपाल भारत सिमा नाकाको दशगजामा दुई सय मिटरभित्र कुनै पनि किसिमको मानवीय गतिविधि संचालन गर्न नपाइने अन्तर्राष्ट्रिय नियम भएपनि उल्टै सशस्त्र प्रहरी र नेपाल प्रहरी कै संरक्षणमा मदिरा पसल संचालन हुदै आएको स्थानीयको आरोप छ ।
सिमा क्षेत्रमा खुल्लमखुल्ला संचालनमा रहेका मदिरा पसलहरुको बारेमा प्रहरी चौकी बेलदारीका प्रहरी सहायक निरीक्षक मनोज तिवारीसंग सम्पर्क गर्दा सिमा नाकाभित्र भारतीय र नेपाली दुबै देशका नागरिकले मदिरा पसल संचालन गर्दै आएको बताउनुभयो । भारतीयहरुले आफ्ना नातेदारको नाममा स्थानीय प्रशासनसंग अनुमति पत्र लिएर मदिरा पसल संचालन गर्दै आएको बताउनुभयो । बेलुका सात बजेबाट मदिरा पसल बन्द हुने सुरक्षाकर्मीहरुले जानकारी गराएको भएपनि राति अबेरसम्म मदिरा पसल संचालन हुने गरेको स्थानीयहरुले बताएका छन ।