काठमाडौं,लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद बिमल प्रसाद श्रीवास्तवले बजेट वक्तव्यमा उल्लेख भए अनुसार वीरगन्जमा चिनी मिल सञ्चालन भए आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताउनुभयो । आगामी आर्थिक वर्ष भित्र वीरगन्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभएको हो ।

‘यदि यो साल वीरगन्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति होइन, मसँग पैसा पनि छैन । तर यो दुईवटा सञ्चालन भयो भने मेरो नामको एउटा घर छ त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भएपनि एक करोड, डेढ करोड जति पैसा हुन्छ म यो सरकारलाई वीरगन्जको चिनी मिल र कृषि औजार सञ्चालनका लागि व्यक्तिगत रुपले सहयोग गर्ने प्रतीज्ञा गर्छु’ उहाँले भन्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरुको असन्तुष्टि रहेको उल्लेख गर्दै बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको बताउनुभयो ।

Leave a Reply