प्रदेससभा सदस्य विश्वकर्मा र गुरुङ्ग एकीकृत समाजवादीमा, निजगढ नगर कार्यपालिका सदस्य विकको पनि सनाखत

निजगढ,नेकपा एमाले छाडेर बारा जिल्लाबाट निर्वाचित प्रदेश २ का थप दुईजना प्रदेशसभा सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ्ग नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरुले निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा आफ्नो सनाखत गराएका हुन् । विश्वकर्मा नेकपा एमाले बारा जिल्ला कमिटी अध्यक्ष समेत हुनुहुन्छ ।

यसअघि नेकपा एमालेमा नै रहने भनेका दुबैजना गत शुक्रबार वीरगन्जमा आयोजित प्रदेश कमिटी बैठकमा समेत सहभागी भएका थिए । तर आइतबार एकाएक उनीहरुले जनकपुर पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन ।

सांसद विश्वकर्माले सनाखत नगरुञ्जेल आफुहरु एमालेमै रहेको र त्यही अनुसार पार्टीको बैठकमा सामेल भएको बताउदै अब नेकपा एकीकृत समाजवादीमा सामेल भएको बताउनुभयो । यसअघि गत बिहीबार प्रदेश २ का १० एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका थिए । विश्वकर्मा र गुरुङ्गको सनाखतपछि प्रदेश २ मा नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा सामेल हुने प्रदेशसभा सदस्यको संख्या १२ पुगेको छ ।

त्यसैगरी क्यान्सर उपचारका क्रममा दिल्लीमा रहनुभएका अर्का प्रदेश सभा सदस्य डिल्ली उप्रेतीको पनि सनाखत हुने बताइएको छ । दिल्लीस्थित नेपाली दूतावासको रोहवरमा उप्रेतीको सनाखत गरेर निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेको बताइएको छ । उप्रेतीले पनि सनाखत गरेको अवस्थमा प्रदेश २ बाट नेकपा एकीकृत समाजवादीमा खनाखत गर्नेको संख्या १३ पुग्नेछ ।

यसैबीच निजगढ नगर कार्यपालिका सदस्य पवन विश्वकर्माले पनि एकीकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको छ । विश्वकर्माले शुक्रबार निर्वाचन आयोगको कार्यालय कलैया पुगेर समाजवादीको पक्षमा सनाखत गर्नुभएको थियो । एमाले निकट नेपाल उत्पिडित जातीय मुक्ति मोर्चाको निजगढ नगर कमिटी अध्यक्ष समेत रहनुभएका विश्वकर्मा निजगढ नगरपालिकाबाट समाजवादीमा सनाखत गर्ने एक्ला जनप्रतिनिधि हुनुहुन्छ । विश्वकर्मा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अल्पसंख्यक कोटामा नगर कार्यपालिका सदस्यमा चयन हुनु भएको थियो । विश्वकर्माले पार्टी अध्यक्ष ओलीको तानाशाही प्रवृत्तिले पार्टी क्षतविक्षत बनेको र आफु एकीकृत समाजवादी पार्टीमा लागेको बताउनुभएको छ ।
जसपाका थप ३ सांसद लोसपामा

कलैया,जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । आइतबार लोसपा रोज्नेमा अभिराम शर्मा, रानी कुमारी तिवारी र उपेन्द्र महतो छन् । तीनैजना सांसदले जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोसपामा सनाखत गरेको लोसपा सांसद परमेश्वर साहले जानकारी दिनुभयो । यी तीनजना सांसदले सनाखत गरेसँगै प्रदेश २ मा लोसपा सांसदको संख्या १५ पुगेको छ । यसअघि १२ जनाले सनाखत गरेका थिए ।

परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी, डिम्पल झा, प्रहलाद गिरी गोस्वामी र गौरीनारायण साहले सनाखत गरेका थिए । सनाखत गर्ने गोस्वामी पूर्व मधेशी जनअधिकार फोरमबाट र बाँकी सबै पूर्व राजपाबाट निर्वाचित भएका सांसद हुन् । आइतबार धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले पनि लोसपामा सनाखत गरेका छन् । उनी राजपाबाट निर्वाचित भएका थिए ।

Leave a Reply