जनकपुरधाम,प्रदेश २ का दुई सांसदले माधवकुमार नेपालको साथ छाडेका छन् । बाराका सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एमालेमै बस्ने निर्णय लिनुभएको हो । बिहीबार दल रोज्ने क्रममा जनकपुरमा भएको सनाखतमा दुबै सांसद अनुपस्थिति हुनु भएको थियो । तर उहाँहरु बिहीबार नै वीरगन्जमा आयोजित नेकपा एमालेको प्रदेशस्तरीय बैठकमा सहभागी हुनुभएको थियो । बैठकमा सहभागी सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एमालेमै बस्ने प्रतिक्रिया दिनुभएको छ । ‘लामो समयदेखि यही पार्टीबाट राजनीति गर्दै आएका छौं,’ उहाँहरुले भन्नुभयो, ‘अब पनि यहीं बसेर राजनीति गर्छौं ।’ अन्तरसंघर्षका बेला नेता नेपाललाई साथ दिएको भए पनि पार्टी फुटाउन साथ दिन नसकिने उहाँहरुको भनाइ छ । ‘हिजो अन्तरसंघर्ष थियो । त्यही भएर हामीले साथ दियौं,’ एमाले सांसद गुरुङले भन्नुभयो, ‘पार्टी नै फोडेपछि साथ दिन्न सकिन्नँ । ३५ वर्षदेखि रगत पसिना बगाएर बनाएको पार्टी छाडेर अन्यत्र जान सकिन्न ।’ विश्वकर्मा बाराको ४ क बाट निर्वाचित हुनुभएको हो भने गुरुङ समानुपातिक सांसद हुुनुहुन्छ । यसअघि विश्वकर्मा र गुरुङ्गले एमालेमा माधव नेपाल पक्षमा साथ दिदै आएका थिए ।
यसैबीच प्रदेश २ मा नेकपा एमालेका ११ सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । जनकपुरमा रहेको प्रदेश निर्वाचन कार्यालयमा बिहीवार दिउँसो १० जनाले भौतिक रूपमा र एक जनाले पत्रमार्फत सनाखत गरेका हुन् ।
प्रदेश सांसद सत्रुधन महतो, मञ्जु यादव, चन्द्रसेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले भौतिक रूपमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । क्यान्सर भएर उपचाररत डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गराएको प्रदेश सांसद सत्रुधन महतोले जानकारी दिनुभयो ।
प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । एमाले प्रदेश २ संसदीय दलमा ओली पक्ष पहिलेदेखि नै कमजोर छ ।