पुष्पराज खतिवडा

मनहर्वा,मोटरसाईकल दुर्घटना परि घाइते भएका जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ फत्तेपुरका २६ बर्षिय विकास गौतमको उपचारमा आर्थिक अभाव भएको छ । खर्च अभावले थप उपचारमा समस्या भएपछि परिवारले सहयोगको याचना गरेको छ ।

गत वर्ष मंसिर ९ गते राती सिमराबाट घर फर्कने क्रममा सोही पालिकाको वडा नं.१५ स्याउली बजार नजिकै भएको मोटरसाइकल दुर्घटनामा गौतम घाइते भएका थिए । टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको उपचारमा परिवारले ४० लाख भन्दाबढी रुपैंया खर्च गरिसकेको विकासका बुवा तोयाराज गौतमले बताउनुभयो ।

उपचारमा ऋणधन गरेर खर्च गर्दै आएको उहाँको भनाइ छ । ‘४० लाख भन्दाबढी खर्च भइसक्यो उहाँले भन्नुभयो, खर्च अभावमा छोराको ज्यान बचाउन समस्या हुने भयो ।’ कमजोर आर्थिक अवस्थाको तोयाराजको परिवारले अर्काको जमिन हुण्डा बटैया लिएर गुजारा चलाउदै आएको छ ।

छोरा विकासको हाल चितवनस्थित चितवन थेरापी सेन्टरमा उपचार भइरहेको छ । विकासको नियमित रेखदेखमा उनका साहिला दाजु प्रकाश अस्पातालमा हुनुहुन्छ ।

‘अब थप उचार खर्च तिर्न हामीसँग पैसा छैन, ६० बर्षिय तोयाराजले गहभरी आँसु खसाल्दै भन्नुभयो, केही पैसा जम्मा पार्न सके बचाउन सकिन्थ्यो होला भन्ने आशा छ ।’

तोयाराजको ५ सन्तान मध्येको विकास कान्छा छोरा हुन् । प्लस टुसम्मको अध्ययन पुरा गरेका विकासले स्थानीय निर्माण कम्पनीमा सुपरभाईजरको रुपमा काम गर्दै आएका थिए । चितवन मेडिकल कलेजका डा. बिनोद भट्टराईको टोलीले उनको उपचार गरिरहेको छ । डाक्टरहरुकै सल्लाह बमोजिम चितवन थेरापीमा करिब ८ महिनादेखि उपचार भइरहेको दाजु प्रकाशले बताउनुभयो । उपचारमा संलग्न डाक्टरहरुले ठिक हुन्छ तर समय र थप रकम पनि लाग्ने भनेर बताएको उहाँले जानकारी दिनुभयो । हाल थेरापीमा मात्रै मासिक १ लाख ५० हजार रुपैया खर्च भइरहेको उहाँले बताउनुभयो । घाइते भई उपचारत विकासको जीवन रक्षाका लागि उनका आफन्त र गाउँलेहरुले केही दिन अघिबाट आर्थिक सहयोग संकलन गरिरहेका छन् । हालसम्म करिब दुईलाख रकम संकलन भएको मावली दाजु हरिशरण ढकालले जानकारी दिनुभयो । विकासको जीवन रक्षाका लागि दाजु अश्वीनकुमार गौतमको नाममा एन.आइ.सि एसिया बैंक क्षेत्रपाटी शाखामा खाता नं.ं ११९८९८९६७६१५२४०१ सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको ढकालले जानकारी दिनुभयो । सक्नेले सहयोग गरि विकासको जीवन बचाउ अभियानमा साथ दिन उहाँले आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here