गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाक सुलिकोट गाउँपालिका आइपुग्नुभएको छ ।नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड पार्टीले सञ्चालन गरेको ३ महिने अभियान अन्तर्गत बारपाक सुलिकोट गाउँपालिका–८ को पार्टी कमिटी बैठकमा सहभागी हुन बुधवार गोरखा आइपुग्नुभएको हो ।गोरखा पुग्नुभएका प्रधानमन्त्री समक्ष निर्वाचन क्षेत्रका कार्यकर्ताले चुनावमा गरेको वाचा पूरा गर्न ध्यानाकर्षण गराएका छन् । वडा कमिटी बैठकमा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले निर्वाचित भएको एक वर्ष भइसक्दा पनि चुनावका बेला गरेका वाचा पूरा नभएको गुनासो गरेका हुन् ।उनीहरुले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रभित्र पर्ने सौरपानी बारपाक सडकमा बजेट अभाव भएको, घ्याम्पेसाल ताकुकोट सडक कालोपत्र गर्न ढिलाइ भएको लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष विभिन्न अलमलका कारण आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । उहाँले छिट्टै सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ।प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा हिजो मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डौ नछाड्ने घोषणा गर्नुभएको थियो । तर, उहाँ आफ्नो घोषणाको भोलिपल्टै पार्टी कमिटी बैठकमा सहभागी हुन गोरखा आइपुग्नुभएको हो । बारपाक सुलिकोट गाउँपालिका प्रचण्ड निर्वाचित हुनुभएको गोरखा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्दछ ।

Leave a Reply