निजगढ नगरपालिकाले सिन्धुपाल्चोक जिल्लाका बाढी, पहिरो पिडीतहरुको लागि ६ लाख रुपैया नगद सहयोग गर्ने भएको छ । बाराको निजगढ नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु नगरपालिकाका बाढी, पिडीतहरुलाई सहयोग गर्न लागेको हो । बाढी, पहिरो पिडीतलाई सहयोग गर्न निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लिलादेबी लामिछानेसहित वडा अध्यक्षहरुको टोली शुक्रबार निजगढबाट सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको छ । टोलीले शनिबार बिहान मेलम्ची र हेलम्बु नगरपालिका कार्यालयमा पुगेर सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामजी बजगाईले जानकारी दिनुभयो । उहाँले बाढी र पहिरोबाट अतिप्रभावित दुबै पालिकाका नागरिकहरुको लागि पालिकामार्फत ३÷३ लाखको दरले नगद सहयोग गर्न लागेको बताउनुभयो ।
गएको असार १ गते मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परेर केही मानिस बेपत्ता भएका छन् भने झन्डै चार सय परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका पूर्वाधारहरूमा समेत ठुलो क्षति भएको छ ।