कलैया,बाराको महागढ़ीमाई नगरपालिका वडा नम्बर २ स्थित हुलाकी राजमार्गको सड़क पेटीमा डेढ वर्षदेखि कष्टकर जीवन बिताउदै आएका एक बेसाहरा बृद्ध पुरुषलाई मंगलबार उद्धार गरि वीरगन्जस्थित मानव सेवा आश्रममा ल्याएर राखिएको छ ।
सामाजिक अभियन्ता प्रकाश थारुको अगुवाइ र पहलमा ती बृद्धलाइ सडकबाट उद्धार गरेर मंगलबार मानव सेवा आश्रममा ल्याइएको हो । हुलाकी सडक छेउको पेटीमा खरको सानो झुप्रोमा बस्दै आएका नाम र ठेगना खुल्न नसकेका र बोल्न पनि नसक्ने अन्दाजी ६५ बर्षिय बृद्धले १८ महिनादेखि कष्टकर जीवन बिताइरहेको भेटिएपछि ती बृद्धलाई उद्धार गरि मानवसेवा आश्रममा ल्याइएको थारुले बताउनुभयो । ती बृद्धको उद्धारमा कलैयास्थित जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सन्तोष यादव, अखिलेश यादवका साथै महागढी नगरपालिकाका जनप्रतिधि र प्रहरीले सहयोग गरेको थारुले जानकारी दिनुभयो ।