वीरगन्ज,पर्सा जिल्लामा बैशाख १६ गतेदेखि बैशाख ३० गतेसम्मका लागि लगाइएको निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले बैशाख १६ देखि बैशाख ३० गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञा थप सात दिनका लागि अर्थात जेठ ६ गतेसम्मका लागि थप्ने निर्णय गरेको हो । यसअघि पहिलो पटक बैशाख १६ देखि बैशाख २२ गतेसम्मका लागि लगाइएको निषेधाज्ञा बैशाख ३० गतेसम्मका लागि थपिएको थियो । कोरोना संक्रमण र मृत्यु दर नियन्त्रणमा निषेधाज्ञा उपयोगी देखिएकाले निषेधाज्ञा जेठ ६ गते राति १२ बजेसम्मका लागि थप्ने निर्णय गरिएको डिसिसिएमसीको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो । यस्तै डिसिसिएमसीको बैठकले मुस्लिम धर्मावलम्बीहरुलाई इदुल फित्र इद पर्बमा मस्जिद र बजारमा भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरि आआफनै घरमा मनाउन आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण कार्य तीन सिफ्टमा २४ सै घण्टा सन्चालन गर्ने निर्णय पनि गरेको पौडेलले जानकारी दिनुभयो ।