हेटौंडा – मकवानपुरको दुईवटा गाउँपालिकामा दादुराको प्रकोप देखा परेको छ । जिल्लाको विकट कैलाश गाउँपालिका र राक्सीराङ गाउँपालिकाको केही वडामा दादुराको प्रकोप देखापरेको हो । पहिले दादुरा र रुबेला विरुद्धको खोप नलगाएको स्थानमा यो रोग देखापरेको छ । दादुरा रोगको निवारण भइसकेपछी फेरी एक जना भन्दा वढी व्यक्तिलाई रोग देखापरेमा प्रकोप भनिन्छ ।
बागमती प्रदेशका तीन वटा जिल्लाका विकट क्षेत्रमा दादुरा रोगको प्रकोप देखापरेको प्रदेश स्वाथ्य निर्देशनालय हेटौडाका निर्देशक रमेश प्रसाद अधिकारीले जानकारी दिनुभयो । मकवानपुरका दुईवटा गाउँपालिका सहित चितवनको राप्ती नगरपालिकाका, धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका र गजुरीमा दादुराको प्रकोप देखापरेको उहाँले वताउनुभयो । धादिङका दुई गाउँपालिकामा भने दादुरा विरुद्धको खोप लगाउने काम सुरु भएको छ । मकवानपुर र चितवन जिल्लामा दादुरा विरुद्धको खोप लगाउने तयारी भएको अधिकारीले जानकारी दिनुभयो ।
अहिले पहिलो चरण भएकाले केही व्यक्तिलाई मात्र यो रोग देखापरेको छ । अव नियमित खोपसेवाका कार्यक्रम भने सुरु गर्ने तयारी गरिएको छ । यो खोप ६ महिना देखि १५ वर्ष सम्मकालाई लगाउने तयारी गरिएको उहाँले वताउनुभयो । दादुराको निवारण गर्न लागिएको समयमा फेरी यो रोग देखापरेको हो ।