कृपा संवाददाता
निजगढ, ३० कार्तिक । पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई आज आइतबार प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमान स्थल निर्माण क्षेत्रको रुपमा रहेको टाँगियावस्तिको स्थलगत निरीक्षण भ्रमणको लागि बारा आउनुहुने भएको छ । निजगढ विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आउनुभएका मन्त्री भट्टराई स्थानीय बासिन्दाको भावना बुझन र विमानस्थल निर्माण क्षेत्रको भौतिक अवस्था बारे जानकारी लिन टाँगियावस्तिको भ्रमणमा आउन लाग्नुभएको हो ।

 

 

 

यसक्रममा मन्त्री भट्टराईले बिहान ८ बजे पथलैयामा पार्टी कार्यकर्ता र विमानस्थल निर्माण सरोकारवालहरुसंग भेटघाट गर्ने र दिउसो टाँगियावस्तिको अवलोकनपछि कोल्हवी नगरपालिकास्थित तामागढी इभेन्ट भेन्युमा पुगेर टाँगियावस्तिको मुआब्जा समस्या बारे स्थानीयसंग अन्तरक्रिया गर्ने कार्यक्रम समेत तय गरिएको छ । आन्तरिक रुपमा विमान स्थल निर्माणको कामलाई गति दिएको सरकारले वस्ति स्थानान्तरण र मुआब्जा वितरणमा ठोस निर्णय गरिनसकेकाले टाँगियाबासीमा मुआब्जाको बारे चासो बढेको छ । मन्त्री भट्टराईले यही मंसिर महिनाको अन्तिमसम्म विमानस्थलको शिल्यान्यास गर्ने घोषणा गरिसक्नुभएको छ ।

 

यसैबीच नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्ड सहित सरकारका पाँच बिभागिय मन्त्री निजगढ आउनुहुने भएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डसहित वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रुघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादब मंसिर १० गते बाराको निजगढ आउनुहुने भएको हो ।

 

 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश २ कमिटीको आयोजनामा राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक र निजगढ अन्र्तराष्ट्रिय बिमानास्थल सम्बन्धि बिशाल जनसभा र अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री र मन्त्रीहरु आउन लाग्नुभएको हो । निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा दिउँसो १२ बजे हुने सभामा प्रदेश २ का राष्ट्रिय गौररबको आयोजना फास्ट ट्रयाक, विमानस्थलसहित पूर्वपश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, सिमराको आर्थिक विशेष आर्थिक क्षेत्र (सेज) को बारेमा समेत प्रगति विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here