कलैया,कोरोना भाइरस महामारीको दोश्रो चरण सुरु भएसंगै सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्नेलाई बारा प्रहरीले कारबाही गर्न सुरु गरेको छ । मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुका साथै प्रहरीले जरिवानासमेत तिराउने गरेको छ । अभियान सुरु भएको दुई दिनमै ९ सय ६९ जनालाई कारबाही गरिएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो । बजार क्षेत्रमा मास्क नलगाइ निस्केका ९ सय ६९ जनालाई जनही १ सय रुपियाँ जरिवाना तिराउनुका साथै प्रहरीले करिब ७ हजार भन्दा बढी मानिसलाई माक्ससमेत वितरण गरेको डिएसपी मिश्रले बताउनुभयो ।
यस क्रममा बारा प्रहरीले करिव १० हजार भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका अधिकांशलाई माक्स अनिवार्य लगाउनुपर्ने विषयमा सम्झाई–बुझाई छाडिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले बैशाख १० गते माक्स नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो । स्थानीय प्रशासनले प्रहरीलाई परिपत्र गर्दै केन्द्रको स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम नगर्ने र माक्सबिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐनअनुसार कारबाही गर्न निर्देशन दिइएको भएतापनि बारामा भने अझै स्थानीयले माक्सको प्रयोग गरेको पाइदैन । माक्स नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेअनुसार कारबाही गर्ने क्रमजारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द पौडेलले बताउनुभयो ।