निजगढ,युवा तथा खेलकुद पूर्वमन्त्री एंव संविधान सभा सदस्य पुरुषोत्तम पौडेलले शहीद मुखलाल महतो देश र गरिब जनताको निम्ति ज्यान अपर्ण गर्नेमध्येको एक सच्चा शहीद भएको बताउनुभएको छ ।बाराको निजगढमा मंगलवार भएको शहीद मुखलाल स्मृति प्रतिष्ठानको साधारण सभा तथा रेडियो निजगढको बार्षिकोत्सव कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो । ‘किसान र गरिब जनताको पक्षमा लड्ने क्रममा तत्कालिन शासकहरुले मुखलालको हत्या गरेका थिए, पौडेलले भन्नुभयो, बामपन्थीहरुले किसान आन्दोलनका शहीद महतोको सधै उच्च सम्मान गर्नुपर्छ ।’

२०११–०१२ सालताका बारा र रौतहट जिल्लाका जमिन्दारहरुले किसानमाथि शोषण, दमन तीव्र पारेको र किसानहरुले पनि प्रतिकारमा आन्दोलन गरेको पौडेलले बताउनुभयो । उहाँले जमिन्दारहरु विरुद्ध किसानहरुले त्यतिबेला ‘जी कहो, रे नही, मुछ उखारो, जाली तमसुक च्यातो जस्ता नारामा आन्दोलन चलाएको जानकारी दिनुभयो ।शहीद मुखलालको बारेमा अझै पनि पर्याप्त अध्ययन हुन नसकेको भन्दै नेता पौडेलले आफू कक्षा १० मा अध्ययन गर्दाताका विद्यार्थी राजनीतिमा सक्रिय भएपछि यस क्षेत्रमा भएको किसान आन्दोलनको बारेमा अध्ययन गरेको बताउनभुयो ।

अध्ययनको क्रममा आफूले बारा, रौतहट र पर्सा जिल्लाका विभिन्न गाउँमा पुगेर किसान अगुवाहरुसंग भेटघाट गरेको र आन्दोलनको विवरण संकलन गरेको बताउनुभयो । सोही क्रममा आफूले बारा र रौतहटको किसान आन्दोलन र शहीद मुखलालको बारेमा जानकारी पाएको पनि सुनाउनुभयो ।‘बाराको गडहलका जमिन्दार हृदय नारायणले तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवंम किसान नेता मधु सिंहलाई नियन्त्रणमा लिएर घरमा थुनेका थिए, उहाँले सुनाउनुभयो, नेता सिंहलाई मुक्त पार्न भनेर बारा र रौतहटका गाउँगाउँबाट आएका किसानमाथि प्रहरी र सेनाले अन्धाधुन्दा गोली चलाएको थियो ।’ उहाँले अगाडि भन्नुभयो, १० हजारभन्दा बढी किसान जमिन्दारको घर घेर्न आएका थिए, जमिन्दारका लठैत र स्थानीय प्रहरीले समेत रोक्न नसकेपछि वीरगञ्जबाट बडाहाकिमको नेतृत्वमा थप प्रहरी र नेपाली सेनाको टोली बोलाएर किसानहरुमाथि दमन गर्ने काम भयो ।’
गडहल गाउँको पश्चिमतर्फ पर्ने हालको नरही चोकमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको र सोही क्रममा सुरक्षाकर्मीको गोलीबाट मुखलालको ज्यान गएको पौडेलले जानकारी दिनुभयो । ‘त्यतिबेला २ जनाको हत्या गरिएको थियो, आन्दोलनमा सहभागी अगुवाहरुले दिएको जानकारीको हवाला दिदै पौडेलले भन्नुभयो, एक जनाको शव सेनाले नै कब्जामा लिएर बेपत्ता पा¥यो, मुखलालको शव भने खोसेर किसानहरुले जलुससहित अन्त्यष्टि गरेका थिए ।’ अर्का शहीदको नाम कमरेड सिगार रहेको पनि उहाँले बताउनुभयो । सो क्रममा १ दर्जनभन्दा बढी आन्दोलनकारी सेना र प्रहरीको गोली लागेर घाइते बनेको पौडेलले सुनाउनुभयो ।

मुखलाल महतोको हत्याको समय एकिन नभएको भएपनि ०११ वा ०१२ सालको शुरुमा १६ वर्षको उमेरमा नै हत्या भएको पौडेलले जानकारी दिनुभयो ।रौतहटका किसान आन्दोलनका अगुवा विष्णुबहादुर मानन्धर, हरिदयाल महतो, महादेव साह, खजान्ची साह र बाराका मोहन कोइरी, नन्दन अर्याल, जादो भगत मोहन पटवारी, मधु सिंहलगायत नेताहरुसंग भेटेर आफूले विवरण संकलन गरेको र त्यसको पाण्डुलिपि आफूसंग अझै सुरक्षित रहेको पौडेलले सुनाउनुभयो ।
आफूले किसान आन्दोलनको तथ्याङ्क संकलन गरेर नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई बुझाएको र बिजुक्छेले पछि ‘बारा र रौतहटको किसान आन्दोलन’ पुस्तक तयार पारेको पनि उहाँले बताउनुभयो ।

मुखलाल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहनुभएका पौडेलले सरकारले मुखलाल महतोलाई शहीद घोषणा नगरेकोमा दुःख पनि गर्नुभएको छ । ‘हाल १४-१५ हजारको संख्यामा शहीद घोषणा गरिएको छ, उहाँले भन्नुभयो, तर पटकपटक माग गर्दा पनि गरिब र किसानको पक्षमा ज्यान दिने मुखलाललाई भने अझै शहीदको सूचीमा राखिएको छैैन ।’
सरकारले घोषणा नगरेपनि आफूहरुले ०५६ सालमा शहीद मुखलाल स्मृति प्रतिष्ठान गठन गरेर सम्मान गर्दैआएको जानकारी दिनुभयो । उहाँले मुखललाले सहादत प्राप्त गरेको नरहीमा प्रतिष्ठानले नै शालीक स्थापना गरेको पनि सुनाउनुभयो ।कार्यक्रममा रेडियो संचालक समितिका संयोजक सुदर्शन कोइरलाले रेडियोको प्रगति प्रतिवेदन र सदस्य रुद्र धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्लस टु परीक्षामा निजगढ नगरपालिकाबाट सर्वोत्कृष्ट अंकसहित उतिर्ण हुने निजगढ नगरपालिका– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयकी छात्रा दिया गोले र निजगढ नगरपालिका– ९ स्थित गौरीशंकर क्याम्पसबाट उत्कृष्ट अङ्कसहित उर्तीण हुने प्रतिमा लामा रुम्बालाई ‘टंकनाथ–रत्नकुमारी स्मृति अक्षय कोष’ बाट नगद दश हजारसहित सम्मान गरिएको छ ।

प्रतिष्ठानले निजगढ क्षेत्रमा संचालनमा रहेका सामुदायिक विद्यालय र क्याम्पसको अन्तिम कक्षाको परीक्षामा सबैभन्दा बढी अंक ल्याएर उर्तिण हुने २ जना छात्रछात्रालाई हरेक वर्ष १०-१० हजारको दरले ‘जेहेन्दार विद्यार्थी पुरस्कार’बाट सम्मानित गर्दैआएको छ ।कार्यक्रमा प्रतिष्ठानकी कोषाध्यक्ष लिलादेवी खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइनेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा सहकारीको सभाहलमा भएको सो साधारण सभामा मुखलाल स्मृति प्रतिष्ठान र रेडियो निजगढका आजिवन सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply