पुष्पराज खतिवडा
मनहर्वा,नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्गले स्थानीय तहको चुनावमा एमाले पुनः पहिलो दल बन्ने दाबी गर्नुभएको छ ।
शनिबार बाराको सिमरामा नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिकाकोे प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै नेम्वाङ्गले जनताको पार्टीका रुपमा एमाले स्थापित भएको बताउनुभयो ।
पूर्वसमामुख समेत रहेका नेता नेम्वाङ्गले एमालेले जनचाहना मुताविक विकास र समृद्धिका लागि काम गरेकाले पहिलो शक्तिका रुपमा स्थापित हुन कसैले रोक्न नसक्ने बताउनुभयो । करिब एकघण्टा बोल्नु भएका नेवाङ्गले एमाले सरकारले कठिन परिस्थितिमा पनि धेरै महत्पूर्ण काम गरेको बताउनुभयो ।
राष्ट्र र राष्ट्रियताप्रति एमालेको अडान, चुच्चे नक्सा सार्वजनिक, भुकम्पले थलिएका संरचनाको पुनः निर्माण, भारतसँग मात्रै सिमित रहेको पारवहन सन्धी चिन लगायत अन्य मुलकुसँग गरिनु ओली नेतृत्वमा एमाले सरकारको महत्वपूर्ण उपलब्धी भएको उहाँले बताउनुभयो ।
एमाले सरकार तराई मधेशको विकासको संवाहक बनेको उहाँको भनाइ थियो । ‘जनताले एमालेको नीतिलाई आत्मासाथ गरेका छन्, उहाँले भन्नुभयो, त्यहि भएर देशभरि एमालेको पक्षमा जनलहर बढेको छ ।’ एमालेप्रति बढदो आकर्षणले एमालेलाई पुनः पहिलो पार्टी बनाउने निश्चित भएको उहाँको भनाइ थियो । देशका विभिन्न विभिन्न भागमा अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गर्न भइरहेको होडबाजी कसैको मायादया र लोभमा नभइ एमाले सरकारले गरेका कामप्रतिको सम्मान भएको उहाँको भनाइ थियो । ‘एमाले सरकारको पालामा राष्ट्रिय महत्वका धेरै उपलब्धी भएका छन, एमाले सरकारले लिएका नीतिले देशभर विकासको लहर सृजना गरेको छ, नेता नेवाङ्गले भन्नुभयो, जनताको मन जित्न सफल पार्टी एमालेमात्रै भएकाले बैशाख ३० पछि एमाले फेरि पहिलो शक्ति भएर आउने छ ।’
परमादेशबाट बनेको वर्तमान ५ दलीय गठबन्धनको सरकारले जनतालाई राहत दिन नसकेको उहाँको आरोप थियो । मुल्य वृद्धि, विकास निर्माणका काम प्रभावित पर्ने लगायतका कामले राहत भन्दा जनताले आहत महशुस गरिरेहेको उपाध्यक्ष नेम्वाङ्गको भनाइ थियो । गठबन्धनको आयु लामो नभएको भन्दै उहाँले कुनैपनि बेला नेताहरुको व्यक्तिगत स्वार्थले अप्राकृतिक गठबन्धन भत्किने ठोकुवा पनि गर्नुभयो ।
पार्टी कार्यकर्ताहरुलाई गठबन्धन बनेकै अवस्थामा पनि आत्तिनु पर्ने अवस्थामा एमाले नभएकाले हामीले गरेका काम र आगामी योजना लिएर जनतामा जान आग्रह उहाँले आग्रह गर्नुभयो ।
यस पटकको चुनाव जनादेश र परमादेशबीचको मापनका रुपमा लिएकाले गुट, फुट र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीका पक्षमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वाला साह, केन्द्रीय सदस्य बलवीर चौधरी, सरस्वती चौधरी, मधेश प्रदेश कमिटी सचिव डा. कृष्ण पौडेल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
विहान ११ बजेबाट सुरु भएको अधिवेशनको खुल्ला सत्र अपराहन्न ४ बजे समापन भएको थियो । शनिवार नै हुने अधिवेशनको बन्द सत्रले ५ पदाधिकारी सहित ८५ सदस्य नगर कमिटी गठन गर्ने नगर अधिवेशन आयोजक समितिका संयोजक भोला अधिकारीले जानकारी दिनुभयो ।