निजगढ, ३ भदौँ– निजगढको सिगौलमा नियन्त्रणमा लिइएका एक चोर प्रहरीलाई ढुङ्गाले हिर्काएर फरार बनेका छन । चोरीको सामानसहित पक्राउ परेका चोर अस्थायी प्रहरी चौकी सिगौलका प्रहरी जवान नरबहादुर लुङ्गेलीलाई झुक्याएर भागेका हुन ।
स्थानीय माईला गोलेको घरमा चोरी गरेर भाग्दै गरेको अवस्थामा लुङ्गेलीले निजगढ–सिगौल सडकको सुकेपोखरी जंगलबाट गत सोमबार बिहान ५.३० बजे १ थान एनड्रोइड मोवाइल र सुनको एउटा तिलहरीसहित चोरलाई नियन्त्रणमा लिनुभएको थियो । नियन्त्रणमा लिएको केही बेरपछि नै प्रहरीको हातमा ढुङ्गा प्रहार गरी चोर जंगलतर्फ भागेको बताइएको छ ।
‘मनिङ्ग वाकबाट फर्किदै गर्दा शङ्का लागेर समातेर चौकीतर्फ ल्याउदै थिएँ, प्रहरी जवान लुङ्गेलीले भन्नुभयो, तर हातमा जोडसंगले हानेर भाग्यो ।’ चोरको प्रहारबाट लुङ्गेलीको हातमा चोट लागेको छ । तर चोरले के ले प्रहार गरेको हो भन्ने आफुले थाहा नपाएको पनि बताउनुभाये । बरामद तिलहरी र मोवाइल भने प्रहरीले धनीको जिम्मा लगाएको छ ।
गाउँमा चोरीका घटना बढेको बेला प्रहरी नियन्त्रणबाट चोर फरार बनेपछि स्थानीय थप चिन्तित बनेका छन । एक सातायता वस्तिमा १ दर्जन घरमा चोरीका घटना भएको स्थानीय संचारकर्मी शान्तकुमार सापकोटाले बताउनुभएको छ ।
अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजकुमार ठाकुरकाअनुसार यो अवधिमा सिगौलका १० घरमा चोरी भएको उजुरी चौकीमा आएको छ । स्थानीयको घरबाट १० वटा मोवाइ, सुनाका गहना र अन्य सामानहरु चोरी भएको हो । यसैबीच चोर आशंकामा स्थानीयले मंगलबार सिगौलको पिपलटारबाट समातेर प्रहरीको जिम्मा लगाइएका एक युवकलाई पनि बुधबार छाडिएको छ ।
गाउँकी एक महिलाको घरमा गएर होहल्ला गरेपछि स्थानीयले चोर आरोपमा उनलाई प्रहरीमा बुझाएका थिए । चोरी आशंकामा गाउँलेले समातेर बुझाइएका व्यक्ति अनुसन्धानको क्रममा निर्दोष पाइएपछि छाडिएको प्रहरी चौकीले बताएको छ ।