निजगढ, २८ साउन– कोरोना संक्रमणबाट बुधबार बारा जिल्लाका थप दुई जनाको ज्यान गएको छ । देशभरीमा बुधबारमात्रै थप ११ जनाको ज्यान गएको छ भने ४ सय ८४ जना संक्रमण थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका छन् ।
बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभयो । उनी दम तथा मुटु रोगी थिए । बुधबार बिहान ४ बजे मृत्यु भएका उनको पिसिआर रिपोर्ट दिउँसो १ बजे आएको हो ।
मंगलबार दिउँसो वीरगञ्ज–१६ नगवास्थित सडकमा मृत भेटिएका बाराको बिश्रामपुर–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै बारामा कोरोनाबाट मृत्यु हुनेको संंख्या ५ पुगेको छ । यसअघि जिल्लाको करैयामाईका गाउँपालिकाका ७६ वर्षिय पुरुष, परवानीपुर गाउँपालिकाकी १७ वर्षिय किशोरी र निजगढ नगरपालिकाका ८ वर्षिय बालक गरी ३ जनाले संक्रमणबाट ज्यान गुमाइ सकेका छन ।
कलैयाका एकसहित किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा एक÷एक जनाको मृत्यु भएको छ । यस्तै सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति किस्ट अस्पतालमा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको बुधबार विहान पुष्टि भयो । ज्वरो र झाडावान्ता भएपछि पाटन अस्पताल पुगेकी उनलाई २६ गते किस्ट लगिएको थियो । जनकपुरकी ३८ वर्षीय महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी १८ गते अस्पताल भर्ना भएकी थिइन् । जनकपुरका ७२ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरेर अस्पताल ल्याइएका उनको एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुँवाकोटका ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि २४ गतेनजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकी पुगेका उनी भोलिपल्ट जिल्ला अस्पताल गएका थिए । स्वास्थ्यमा अवस्था थप गम्भीर भएपछि उनलाई २७ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा मंगलबार राति मृत्यु भएको छ । उनी २५ गते भर्ना भएका थिए ।
सप्तरीको डाक्नेश्वरी–८ घर भई राजविराज ६ मा बस्ने ७२ वर्षका संक्रमितको मंगलबार राति मृत्यु भएको छ । चार दिनदेखि ज्वरो आएका उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको थियो । त्यही दिन साँझ उनको आइसोलेसन सेन्टर लैजाने क्रममा को एम्बुलेन्समै मृत्यु भएको छ ।
मोरङ, बुढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएको छ ।
सोमबार राम जानकरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका–६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । बुधबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको मृत्यु भएको हो । मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् । उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो ।