पुष्पराज खतिवडा

मनहर्वा, २८ साउन– प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख र बिरुवा (३२ देखि ९४ सेन्टिमिटर गोलाइ) को गणना शुरु भएको छ । २५ लाख बढी रुख मासेर विमानस्थल बनाउन खोजिएको भन्दै गलत प्रचार भैरहेको बेला संघीय सरकार वन तथा भुसंरक्षण मन्त्रालयको निर्देशनमा डिभिजन वन कार्यालय सिमरा, बाराले आयोजनामा काटिने रुखको संख्या यकिन गर्न लागेको हो ।

प्रस्तावित क्षेत्रभित्र के कति रुख बिरुवा पर्दछन् भन्ने यकिन हुन जरुरी छ, डिभिजन वन कार्यालयका प्रमुख मञ्जुर अहमदले भन्नुभयो, त्यसै कुराको यकिन गर्न गणना थालिएको हो ।’ विमानस्थल निर्माणको विषय परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको र गणनापछि अदालतले मागेको खण्डमा पनि काटिने रुखको वास्तविक तथ्याङ्ग दिन सकिने बताउनुभयो । उहाँले विमानस्थल निमार्णको काम शुरु गर्नुअघि रुख र पोलको संख्या यकिन गर्न जरुरी रहेको प्रमुख अहमदले बताउनुभयो ।

 

वन तथा भुसंरक्षण मन्त्रालयको आदेश र प्रदेश नम्बर २ वन तथा वातावरण मन्त्रालयको अनुमतिमा प्रस्तावित विमानस्थल क्षेत्रको टाँगियावस्तिमा रुख गणनाको काम भैरहेको हो । वन मन्त्रालयको कार्यक्रमअनुसार डिभिजन वन कार्यालय बाराले रुखहरुको गणना शुरु गरेको वन कार्यलय प्रमुख अहमदले बताउनुभयो ।

वन कार्यालयकाअनुसार अहिलेसम्म २५ हजार ६ सय पोल र रुखहरुमा नम्बर प्लेट लगाइ सकिएको छ । वन कार्यालयका ४ जना प्राविधिकहरु र कामदार खटाएर ४ ओटा टोलीमार्फत एक महिना अघिबाट काम शुरु गरेको उहाँले जानकारी दिनुभयो । विमानस्थल निमार्णको लागि सरकारले छुट्याएको ८ हजार ४५ हेक्टर भुभाग मध्ये वन कार्यालयले गुगल म्यापमार्फत पहिलो चरणमा १ हजार ९ सय हेक्टर क्षेत्रभित्र पर्ने रुख र पोलको गणना गरिरहेको छ । विमानस्थलको चार किल्ला मध्ये दक्षिणबाट उत्तरतर्फका २५ हजार ६ सय रुख र पोलको गणना भईसकेको वन प्राविधिक धमेन्द्र पासीले जानकारी दिनुभयो ।
‘३२ सेन्टिमिटर गोलाइ भन्दा माथिका सबै रुख÷विरुवाको गणना भैरहेको छ, पासीले भन्नुभयो, त्यो भन्दा तल पर्ने सबै बिरुवा लाथ्रामा गनिन्छन ।’ प्राविधिक रुपमा ३२ देखि ९४ सेन्टिमिटर गोलाइ भएको बिरुवालाई पोल र ९४ सेन्टिमिटर भन्दा ठुलालाई रुखको रुपमा गणना गरिने उहाँले सुनाउनुभयो ।

आयोजनाको प्रस्तावित १ हजार ९ सय हेक्टर मध्ये तत्काल २ सय हेक्टरमा काम भइरहेको प्राविधिक पासीले सुनाउनुभयो । विमानस्थलमा पर्ने ८ हजार ४५ हेक्टर क्षेत्रफलमा १ सय १० बिगाहा नम्बरी बाहेक सम्पुर्ण जमिन राष्ट्रिय वन क्षेत्रभित्र पर्दछ । तामागढी साझेदारी र सहजनाथ साझेदारी वनको अधिकांश वन क्षेत्र पनि आयोजनाभित्रै रहेको छ ।

प्रस्तावित क्षेत्रको टाँगियावस्तिमामात्रै १४ सय ७६ घरधुरी परिवारको बसोबास रहेको छ भने काँटघाट गाँउमा १ सय १० घरधुरी र मटियानीमा ४८ घरधुरीको बसोबास । विमानस्थल निर्माणको क्रममा चुनौतिपुर्ण मानिएको वस्ति व्यवस्थापनको काम भने अझै शुरु हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here