किसानले कडा मेहेनत गरी उब्जाइएको तरकारी हाल देशका विभिन्न ठाउँमा नष्ट गर्ने कार्य भइरहेको दुःखद घटना सार्वजनिक भइरहेका छन । दिन–रात, घाम–पानी नभनी महिनौं लगाएर उब्जाइएको तरकारी उपभोग गर्ने बेलामा छिनभरमा नै नष्ट गरिएपछि आम किसानको मन अति नै रोएको छ । उनीहरू हतोत्साही भएका छन् । केही मुठीभर व्यक्तिले किसानले परिश्रम गरी उब्जाएका तरकारीलाई खाल्डो खनी केही मिनेटमा नै पुरिदिएपछि आम नेपालीको मन खिन्न हुनु स्वाभाविकै हो ।
तरकारीमा पनि सिन्डिकेट गरी किसानको परिश्रमलाई लुट्न खोज्ने दलाललाई सरकारले केही नगरी बचाउ गर्ने वातावरण तयार गरेका कारण कृषिलाई मान्यता दिने भनी सम्बन्धित निकायले गरेको प्रतिवद्धता खोक्रो सावित भएको छ । किसानले उब्जाइएको तरकारीलाई बिक्री गर्ने उद्देश्यले अन्य ठाउँमा लगेपछि स्थानीय दलालले कोरोना भाइरस सर्ने नाउँमा नष्ट गर्ने कार्य मुलुकको विभिन्न ठाउँमा हुने गरेको छ । यस्तो दृश्य टुलुटुलु हेरेर बस्नु पर्ने अवस्था उत्पन्न हुनु अत्यन्तै दुखद कुरा हो ।
यसरी तरकारी नष्ट गर्ने कार्य प्रहरी कार्यालयको अगाडि तथा जिम्मेवार निकायको आँखाअगाडि भए पनि उनीहरूले त्यस्ता अपराधिलाई कुनै कारबाही गरेका पाइँदैन । बारा जिल्लाका कृषकहरुले उत्पादन गरेको तरकारीले समेत भने जसरी मुल्य नपाउदा खेर जाने अवस्थामा पुगेका छन् । एकतर्फ देशमा भारतबाट वर्षेनी अर्वौको तरकारी भित्रिने गरेको छ भने अर्कोतर्फ स्वदेशमै किसानले उत्पान गरेको तरकारीले बजार र संरक्षण नपाएर नष्ट हुने अवस्था छ । देशको अर्थतन्त्रको सवलीकरणमा महत्वपुर्ण भुमिका खेल्दै आएका किसानले उत्पादन गरेको तरकारीको बजार प्रवद्धीकरण गर्न नसकेसम्म राष्ट्रको विकास शंभव छैन । त्यसले तरकारीहरुको उचित मुल्य निर्धारण गरी किसानहरुलाई व्यवसायप्रति प्रत्साहित बनाउन आवश्यक छ । जसले गर्दा देश तरकारीमा पनि आत्मनिर्भर भइ आम किसान र देशको अर्थतन्त्रमा टेवा पुग्नसक्छ ।