हेटौंडा – हेटौंडा उपमहानगरपालिका क्षेत्रमा बिकास निर्माणका काममा महिलाहरु पनि सक्रिय भएर लाग्ने गरेका छन् । आफ्ना टोलको बिकास गर्नका लागि महिलाहरु सक्रिय भएर लाग्ने गरेका हुन् । स्थानीय टोल बिकास संस्थासंगै महिला उपभोक्ता समितिमा रहेर बिकासका कामलाई प्राथमिकता दिने गरेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
हेटौंडाका १९ वटै वडामा गठन भएका ३ सय भन्दा वढी टोलविकास संस्थाले आफ्ना टोलको विकासका लागि काम गरेसंगै विकास निर्माणका काम गर्न उपभोक्ता समितिका रुपमा पनि महिलाहरु सक्रिय भएर लागेका हुन् । उपमहानगरपालिकामा बिकासका काम गर्नका लागि ६० वटा उपभोक्ता समितिमा अध्यक्षका रुपमा चालु आर्थिक वर्षमा महिलाले नेतृत्व गरेर काम गरेको मेयर महतले जानकारी दिनुभयो । महिला अध्यक्ष भएर काम गरेको उपभोक्ता समितिले अरुको तुलनामा राम्रो काम र पारदर्सी रुपमा टोलको सडक निर्माण, नाली निर्माण, भवन निर्माण लगायतका क्षेत्रमा काम गर्ने गरेको उहाँले वताउनुभयो ।
चालु आर्थिक वर्षमा विकास निर्माणका काम गर्न ५ सय ४५ वटा उपभोक्ता समिति मध्यमा ६० वटा उपभोक्ता समितिको अध्यक्ष महिलाले नेतृत्व गरेका छन् । अरु पुरुषले नेतृत्व गरेका धेरैजसो उपभोक्ता समितिमा महिलाहरुको प्रतिनिधित्व बाक्लै छ । तर, पुरुषले सवै काम गर्ने हुँदा महिलाको जिम्मेवारी कम हुनेगरेको देखिएको छ ।
महिलाहरुले नेतृत्व गरेका गरेका टोल विकास संस्थाले आफ्ना क्षेत्रमा स्लाव ढालन, सडक पीच गर्ने काम, हरित वडा कार्यक्रममा बृक्षारोपण, मन्दिर निर्माण, वाल निर्माण, ग्रिन हाउस निर्माण लगायतका काम गरेका छन् ।