कलैया,पूर्वमन्त्री एवंम नेकपा एमाले पोलिटब्युरो सदस्य ज्वाला साहले बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसदले जनताको पक्षमा काम नगरेको आरोप लगाउनुभएको छ । बाराको करैयामाई गाउँपालिकाको उमजनमा सोमवार आयोजित महिला भेलामा बोल्दै साहले सो कुरा बताउनुभएको हो ।उहाँले शिबचन्द्र कुशवाहा अहिले जनमतबाट चुनाब लडेको भएपनि २०६४ सालमा बारा २ बाट जितेर गएको र क्षेत्रको विकासमा कुनै काम नगरेको बताउनुभयो । ‘चुनाव जितेर त जानुभयो, उहाँले भन्नुभयो, तर शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारमा कतै कुनै काम गर्नुभएन ।’ उहाँले जनताको पक्षमा केही काम नगरेका कारण कुशवाहालाई उनकै पार्टीले समेत नपत्याएको बताउनुभयो ।त्यसैगरी जसपाका उम्मेदवार उपेन्द्र यादवले पनि आफनै जिल्ला सप्तरीमा विकासको कुनै काम नगरेका कारण उहाँलाई जनताले हराइदिएको बताउनुभयो । साहले महिला अधिकारका लागि लडने पार्टी एमाले भएकोले सबै सङठित भएर लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो ।उहाँले बारा २ का जनताले जसपा अध्यक्ष यादवलाई हराएर पठाइदिने पनि बताउनुभयो ।भुटन्त्री चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्दीय सदस्य सरस्वती चौधरी, पार्टीको मधेस प्रदेश कमिटी सदस्य पलट चौधरी, देवनारायण चौधरी, मनोज पौडेल, धनिराम चौधरीलगायतका नेताहरुले पार्टीका उम्मेदवार पुरुषोत्तम पौडेललाइ जिताउन आग्रह गर्नुभएको थियो ।



















