हेटौंडा – मकवानपुरको भैसेमा रहेको पुरानो गोरखगढका एक सय ५० जना नेपाली सेनालाई आन्तरिक क्वारेन्टीनमा राखिएको छ । चैत ११ गते लकडाउन भएपछी बिदामा बसेकाहरु घरबाट व्यारेकमा फर्कने, बिदेशबाट फर्किएर आएका सेनालाई हाल सम्म एक सय ५० जनालाई क्वारेन्टीमा राखिएको हो । नेपाली सेनाले आम नागरिकका लागि छुट्टै क्वारेन्टीन वनाएको छ भने नेपाली सेनाको लागि आन्तरिक क्वारेन्टीन व्यारेक भित्रै वनाएको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि उच्च सावधानी अपनाइएको र बिदामा वसेकाहरुलाई व्यारेक आउँदा आन्तरिक क्वारेन्टीनमा राखिएको पुरानो गोरख गढका गढपती अनिल बुढाथोकीले जानकारी दिनुभयो । कोरोनाको संक्रमण व्यारेकमा हुन नदिनका लागि उच्च सर्तकर्ता पनाइएको उहाँले वताउनुभयो । ब्यारेकमा धेरैजना वस्ने भएकाले यसमा सावधानीका साथ काम अगाडी वढाइएको उहाँको भनाई छ ।
यसैगरी नेपाल प्रहरीले पनि कोरोना भाइरसबाट बच्नका लागि उच्च सावधानी अपनाएको छ । अहिले कुनैपनि प्रहरीलाई विदामा वस्न नदिएको र घरमा अत्यन्तै जरुरी भएमा मात्र विदा दिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त लामाले वताउनुभयो । प्रदेशका सवै जिल्लामा ठुलो सख्यामा प्रहरी रहने भएकाले उच्च सावधानी अपनाइएको र कुनै प्रहरीमा कोरोनाको लक्षण देखिहालेमा छुट्टै राख्ने गरिएको डिआइजी लामाले वताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि घरपरिवारको कसैको जरुरी अप्रेसन गर्नुपर्ने, परिवारका सदस्य वितेको भन्दा बाहेक विदामा वस्न रोक लगाइएको प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो ।