हुनत नेपालमा कुष्ठरोग निवारण भयो भनेर घोषणा गरेको १० वर्षपछि कुष्ठरोगीहरू बढिरहेका छन् भन्ने जानकारी प्रकाशमा आएको छ । निवारणको घोषणा गर्नुभनेको मुलुकमा कुष्ठरोग सार्वजनिक स्वास्थ्य समस्याका रूपमा छैन भन्ने नै हो । पछिल्ला वर्षमा भने कुष्ठरोग निवारणको सट्टा रोगीको संख्या बढ्दै गएको पाइनु चिन्ताको विषय बनेको छ । यसका दुई पक्षप्रति सरोकारवालाको ध्यान गएको छ– कुष्ठरोग निवारण नभईकन निवारण भयो भनेर घोषणा गरियो अथवा रोगमै नयाँ जटिलता थपिएर आए जसले गर्दा उपचारात्मक क्षमता अपर्याप्त भएको महसुस भयो ।
खासगरी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को नियमअनुसार प्रति १० हजार जनसंख्यामा एकभन्दा कम कुष्ठरोगी भएको अवस्थामा निवारण घोषणा गर्ने गरिन्छ । तर नेपालमा कुष्ठरोग निवारण घोषणा भएयता ३ हजार १ सय १८ जना कुष्ठरोगी रहेकामा यस वर्ष मात्रै ३ हजार २ सय ८२ नयाँ बिरामी पत्ता लागिसकेका छन् । २०६६ सालमा कुष्ठरोग निवारण घोषणा गर्दा नेपालमा १२ जिल्लामा कुष्ठरोग निवारणको स्थितिमा थिएन । तर हाल १७ जिल्लामा कुष्ठरोग निवारण नभएको स्थिति छ । डब्लूएचओले २०७७ सालमा कुष्ठरोगीको संख्या प्रति १० हजारमा १ भन्दा कममा झार्ने लक्ष्य लिएको छ, तर लक्ष्य विपरीत नेपालमा कुष्ठरोगीको संख्या दिन प्रतिदिन बढ्दै जानुले निवारण लक्ष्य क्रमशः असफल बन्दै गएको देखिन्छ ।
नेपालमा कुष्ठरोगका कारण अपांगता हुनेको संख्या अझ विकराल रहेको छ । रोगको उपचार नगरिएपछि अपांगता हुने करिब ३१ हजार रहेको अनुमान गरिएको छ । २०७७ सालसम्म जन्मिएदेखि १४ वर्षसम्मका बालबालिकालाई शून्यमा झार्ने लक्ष्य रहे पनि यस वर्ष यो उमेर समूहका २ सय ६० जनामा कुष्ठरोगको संक्रमण देखिएको छ । बालबालिकामा देखिएको यस्तो नतिजाले भविष्यमा कुष्ठरोगले विकरालरूप लिने प्रबल सम्भावना उजागर गर्दछ । जनचेतना अभावका कारण मानिसहरू कुष्ठरोग लागेको शुरूको चरणलाई बेवास्ता गर्छन् र रोगले गम्भीर रूप धारण गरेपछि र शारीरिकरूपमा समस्या हुन थालेपछि मात्रै अस्पताल जाने गरेकाले पनि रोगीको संख्या बढेको हो ।