सेढवा,ठोरी गाउँपालिका वडा नम्बर– २ मा रहेको ईलाका प्रहरी कार्यालय परिसरमा मंगलबार वृक्षारोपण गरिएको छ ।

ईलाका प्रहरी कार्यालय ठोरीको आयोजनामा कार्यालय परिसरभित्र रहेको करीब ३ बिगाहा जमिनमा आँप, लिची, कटहर, कागती लगायत विविध प्रजातिका ३ सय वटा बिरुवा रोपिएको हो ।

वृक्षारोपणअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ठोरी गापा अध्यक्ष पदमलाल श्रेष्ठले किसानलाई लक्षित गरेर फलफुलको बिरुवा रोप्ने अभियान सन्चालन गर्न सके फलदायी हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका अध्यक्ष श्रेष्ठले वनजङगल संरक्षण हुँदा वातावरण सन्तुलन हुने भएकाले पालिकाले स्थानीयको आय वृद्धि गर्न र वातावरण संरक्षणका लागि पालिकालाई ‘आँपहब’ बनाउने अवधारणा ल्याएको बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै पर्साका प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले रुख रोप्नु पुण्य आर्जनको काम भएको बताउँदै खाली रहेको पर्ती जग्गामा वृक्षारोपण गर्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो । रोपिएको बिरुवाको संरक्षणमा गाउँपालिकाले अग्रसर भएर काम गर्नु पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा ठोरी गापा वडा नम्बर १ का वडाध्यक्ष रामप्रकाश कुँवर, वडा नम्बर २ का वडा सदस्य श्यामहरी शर्मा, निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत, समितिका पदाधिकारी, समाजसेवी गीतादेवी बिष्ट, नेरामावि ओडारका विव्यस अध्यक्ष बलबहादुर श्रेष्ठ, रेडक्रस उपशाखा ठोरीका प्रकाश खनाल लगायत विभिन्न सामाजिक संघसंस्थाका अगुवा तथा सन्चारकर्मी एवम् प्रहरीको उपस्थिति रहेको थियो ।

सन्चारकर्मी चिरञ्जीवी सापकोटाले सहजीकरण गर्नुभएको सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रम्हदेव साहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply