सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका नयाँ भर्ना भएका नगर प्रहरी, पुराना अग्नि नियन्त्रक, दमकल चालक र हल्का सवारी चालकहरुको लागि आयोजना गरेको नगर प्रहरी सेवा प्रवेश आधारभूत तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर, बारामा एक औपचारिक कार्यक्रमको आयोजना गरी तालिमको समापन गरिएको हो । एक महिनासम्म चलेको तालिममा २ जना नगर प्रहरी सहायक निरीक्षकसहित १४ जना नगर प्रहरी, ३ जना अग्नि नियन्त्रक, २ जना दमकल चालक र १ जना हल्का सवारी चालक सहभागी थिए ।तालिम समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईँले नगर प्रहरीलाई दर्जयानी चिन्ह र प्रमाणपत्र वितरण गर्नुभएको थियो भने तालिमका प्रशिक्षक÷ गुरुहरुलाई नगर प्रमुख राजन पौडेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राजन पौडेलले तालिममा सिकेको ज्ञान र सीपलाई इमान्दारिपूर्वक व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले नगर प्रहरीलाई बधाई दिंदै नियम र अनुशासनको घेराभित्र रहेर कार्य गर्न सुझाव दिनुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईँले नगर प्रहरीलाई कर्मचारी परिवारमा स्वागत गर्दै जिम्मेवारीपूर्वक दैनन्दिन कार्यमा सीपको सदुपयोग गर्न अनुरोध गर्नुभएको थियो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर, बाराका प्रमुख सशस्त्र प्रहरी खुमबहादुर के.सी.ले आगामी दिनमा पनि उपमहानगरपालिकासँग समन्वय गर्दै शान्ति, सुरक्षा र अमन–चयन कायम गर्न नगर प्रहरीलाई सक्रिय रहन आग्रह गर्नुभएको थियो ।
समापन कार्यक्रममा नगर प्रहरीका परिवारजनहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले कबाज प्रदर्शन गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरिक्षक प्रेम सिँह धामीले गर्नुभएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकामा यसअघि एक जना नगर प्रहरी सहायक निरीक्षक सहित १२ जना प्रहरी कार्यरत रहेका छन् ।















