कलैया,सशस्त्र प्रहरी बलले बारा जिल्लाका छुट्टाछुट्टै स्थानबाट श्रोत नखुलेको पाँच लाख नगदसहित अबैध सामान बरामद गरेको छ ।सिम्रौनगढ नगरपालिका– ९ पिठुवाघाट स्थित सीमा ईलाकामा बिओपि गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक प्रशान्त अर्यालको टोलीले लुकाई छिपाई नेपालतर्फ ल्याउदै गरेको अवस्थामा श्रोत नखुलेको नेपाली पाँच लाख नगदसहित एउटा मोटरसाइकल बरामद गरेको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा मोटरसाइकलसहित स्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।त्यसैगरी जिल्लाको बिश्रामपुर, सुवर्ण गाउँपालिका र कलैया उपमहानगरपालिका क्षेत्रबाट पनि सशस्त्रले अबैध सामान बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार बिश्रामपुर ३ मुसहर्वा सीमा ईलाकामा बि.ओ.पि. बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक सन्दिप केसीको टोलीले अबैध रुपमा भारतबाट साइकलको प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको ४१ हजार मूल्य बराबरको मोबाइल कभर, ओजिटी, यूएसबी र डाटा केबल बरामद गरेको हो ।
बिश्रामपुरकै मुहर्वा सीमा ईलाकामा बि.ओ.पि. बरैनियाबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोषप्रसाद साहको टोलीले अबैध रुपमा भारतबाट २ जनाले भारनीय मोटरसाइकलको प्रयोग गरि नेपालतर्फ ल्याउदै गरेको ३५ हजार मूल्य बराबरको ८ क्विन्टल काउली र अन्दाजी तीन लाख मूल्यको मोटरसाइकलसमेत गरी ३ लाख ३५ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।त्यस्तै सुवर्ण गाउँपालिका– ३ जमुनिया सीमा ईलाकामा सशस्त्र प्रहरी १२ नम्बर गण मुख्यालय बाराबाट सशस्त्र प्रहरी नायब निरीक्षक केदारबहादुर परियारको टोलीले भारतीय मोटरसाइकलको प्रयोग गरी अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ३० हजार रुपैयाँ बराबरको काटेको सूर्ति बरामद गरेको छ । एक सय किलो सूर्ति र मोटरसाइकल एक लाख गरी एक लाख ३० हजार बराबरको सामान बरामद गरिएको हो ।
त्यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वा सीमा ईलाकामा प्रस्तावित सीमा सुरक्षा. गुल्म मटिअर्वाबाट खटिएको सशस्त्र प्रहरी हवल्दार सुजन ताम्राकारको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको ५५ हजार रुपैयाँ मूल्य बराबरको कास्मेटिक, कपडा र किराना सामानहरु बरामद गरेको छ ।बरामद भएका सबै सामानहरू भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नम्बर १२ हेडक्वाटर बाराका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिनुभयो ।
















