कलैया,कलैया उपमहानगरपालिकाले बहाल-बिटौरी कर वृद्धि गरेको विरोधमा स्थानीय व्यवसायीहरू शुक्रवारदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् ।तरकारी तथा फलफूल खुद्रा व्यवसायी संघ, कलैयाका अध्यक्ष आलम हुसेनको अगुवाइमा व्यवसायीहरूले वृद्धि भएको कर फिर्ता लिन उपमहानगरपालिकासंग माग गर्दै कलैया बजारमा पसल बन्द गरेर विरोध सुरु गरेका हुन् ।
व्यवसायीहरू बिहानैदेखि कलैया बजारमा धर्नामा बसेका छन् । उनीहरूले उपमहानगरपालिकाले दोब्बरसम्म कर बढाएको भन्दै यस्तो कर वृद्धि आफूहरुलाई असह्य हुने बताएका छन् । अध्यक्ष हुसेनका अनुसार, पहिले रु ३० लाग्ने बहाल बिटौरी कर हाल रु ५० बनाइएको र रु ४० लाग्ने स्थानको कर रु ८० पु¥याइएको जनाइएको छ ।
“यसरी एकैचोटि दोब्बर कर लगाउँदा साना व्यवसायीहरू थप समस्यामा परेका छन्,” अध्यक्ष हुसेनले बताउनुभयो । उहाँले उपमहानगरपालिकाले कर वृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो ।
यता, आन्दोलनकारी व्यवसायीहरूका अनुसार, नगर प्रहरीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्दै जबरजस्ती पसल खुलाउन खोजेपछि त्यसको घोर भत्र्सना गरिएको छ । व्यवसायीहरूले आफूहरू बढेको कर तिर्न असमर्थ रहेको बताएका छन् । कलैया बजारमा करिब दुई सयको संख्यामा खुद्रा तरकारी व्यवसायीहरू क्रियाशील छन् ।उनीहरू आन्दोलनमा उत्रिएपछि बजार क्षेत्रमा सुनसान स्थिति बनेको छ । स्थानिय उपभोक्ताहरू समेत दैनिक उपभोग्य तरकारी सामग्री नपाएर हैरान भएका छन् ।


















