सिरहा । किसानको धान खरिद गरेर रकम नदिएको आरोप लागेका सिरहाको मुसहरनियाँस्थित कौशल एग्रो राइस मिलका सञ्चालक कुशेश्वर साह पुनः पक्राउ परेका छन्। धनुषा प्रहरीले उनलाई सोमबार बिहान सीमावर्ती क्षेत्र जटहीबाट नियन्त्रणमा लिएको हो।

५४ वर्षीय साहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जिल्ला प्रहरी कार्यालय सिरहा पठाउने तयारी भइरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

साहविरुद्ध गत साउनमा लहानस्थित इलाका प्रहरी कार्यालयमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता भएको थियो। राइस मिलमा धान बिक्री गरेका किसानहरूले रकम नपाएको भन्दै उनीविरुद्ध उजुरी दिएका थिए।

प्राप्त विवरणअनुसार २०८१ सालमा सिरहाको कल्याणपुरका रामनाथ साहले २१ लाख रुपैयाँ, प्रवेश साहले चार लाख रुपैयाँ तथा बरियारपट्टीका दिनेश साह र अशोक महतोले जनही १० लाख रुपैयाँ बराबरको धान मिललाई उधारोमा बिक्री गरेका थिए। तर, पटकपटक रकम माग गर्दा पनि सञ्चालक साहले भुक्तानी नगरेको किसानहरूको आरोप छ।

उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सिरहा प्रहरीले जनकपुरमा बस्दै आएका साहलाई नियन्त्रणमा लिन पटकपटक प्रयास गरेको थियो। तर, पक्राउबाट उम्किँदै आएका उनलाई गत शुक्रबार लहानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

धनुषा प्रहरीको भूमिकालाई लिएर आलोचना भएपछि साहलाई सोमबार पुनः पक्राउ गरिएको घटनाले थप चर्चा पाएको छ। अब उनलाई सिरहा प्रहरीको जिम्मा लगाएर थप अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Leave a Reply