वीरगन्ज । चीनमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जितेर वीरगन्जको प्रतिष्ठा बढाउन सफल तीन जना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ।

चीनको सान्या सहरमा गत सेप्टेम्बर २६ र २७ तारिखमा सम्पन्न हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण र कास्य पदक जित्ने खेलाडीलाई महानगरपालिकाले बिहीबार सम्मान गरेको हो।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका १८ खेलाडीमध्ये वीरगन्जबाट सहभागी तीनै जनाले पदक जित्न सफल भएका थिए। वीरगन्जकी अवन्तिका झाले स्वर्ण पदक जित्दा सान्वी शर्मा र अवन्सिका गुप्ताले कास्य पदक हासिल गरेका थिए।

२४ देशका खेलाडी सहभागी प्रतियोगितामा वीरगन्जका तीनै खेलाडीले पदक जित्न सफल भएको प्रशिक्षक दिपेश मानन्धरले जानकारी दिए।

खेलाडीहरूलाई सम्मान गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरी वीरगन्जको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा खुसी व्यक्त गरे।

उनले खेलाडीहरूको मेहनत, लगनशीलता र प्रतिभाले नगरको खेलकुद क्षेत्रको गौरव बढाएको उल्लेख गर्दै उनीहरूको सफलताको प्रशंसा गरे।

मेयर सिंहले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि महानगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताए। खेलाडीलाई आवश्यक प्रोत्साहन र अवसर प्रदान गर्दै आगामी दिनमा पनि खेलकुद क्षेत्रलाई थप व्यवस्थित र सशक्त बनाउन महानगरले सहयोग गर्ने उनको भनाइ थियो।

Leave a Reply