काठमाडौं। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमा पुनर्बहाली गर्नुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
अदालतले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन पनि भनिएको छ।
अदालतको आदेश सार्वजनिक भइसकेको छैन। सबै विपक्षीको लिखित जवाफ प्राप्त भएपछि मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।
















