सिरहा । सिरहाको भगवानपुर गाउँपालिकाका विभिन्न स्थानबाट ट्याक्टरका ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको बलान बिहुल गाउँपालिका–२ का २५ वर्षीय दिपेश कुमार यादव र २२ वर्षीय राजेश कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार गत कात्तिक ३० गते राति भगवानपुर गाउँपालिका–३ र ५ का विभिन्न स्थानबाट ट्याक्टरका ब्याट्री चोरी भएका थिए। घटनाबारे मंसिर १ गते प्रहरी चौकी ठाडीमा उजुरी परेपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।

खोजीका क्रममा सप्तरीबाट भारततर्फ जाँदै गरेको बीआर ३२ एवाई ३४२१ नम्बरको मोटरसाइकलमा राखिएका तीन थान ब्याट्री फेला परेका थिए। अनुसन्धान गर्दा ती ब्याट्री भगवानपुरबाट चोरी भएका पुष्टि भएपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई चोरी भएका ब्याट्री र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको छ।

Leave a Reply