वीरगन्ज,वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै जादा अस्पतालमा शैयाको अभाव भएपछि वीरगन्ज महानगरपालिकाले २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइशोलेसन सेन्टर सन्चालनमा ल्याएको छ । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १० घडीअर्वास्थित गोपाल मण्डली अतिथि सदनमा, महानगरपालिकाले शुक्रबारदेखि २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सन्चालनमा ल्याएको हो । शुक्रबार बिहान गोपालमण्डली अतिथि सदनमा एक कार्यक्रम गरेर महानगर प्रमुख विजयकुमार सरावगीले कोभिड अस्थायी अस्पताल तथा आइशोलेसन सेन्टरको औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । महानगरले सन्चालनमा ल्याएको कोभिड अस्थायी अस्पतालमा पहिलो बिरामी महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की भर्ना हुनु भएको छ । कार्कीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । पर्सा जिल्लामा संक्रमितको संख्या अप्रत्याशीत रुपमा बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र डिसिसिएमसीको मङगलवार बसेको बैठकले वीरगन्ज महानगरपालिकाले कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सन्चालनमा ल्याउने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार वीरगन्ज महानगरपालिकाले भने २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आईशोलेसन सेन्टर स्थापना गरी सन्चालनमा ल्याएको हो ।

महानगरले सन्चालनमा ल्याएको कोभिड अस्थायी अस्पताल तथा आइशोलेसन सेन्टरमा सामान्य लक्षण भएका र लक्षण नदेखिएका संक्रमितलाई भर्ना गरी उपचार गरिने महानगर प्रमुख सरावगीले बताउनुभयो । सरावगीका अनुसार कोभिड अस्थायी अस्पताल तथा आइशोलेसन सेन्टरमा डिएम १, एमडी २ र मेडिकल अफिसर ८ जना गरी ११ जना चिकित्सक खटाइएको छ । यसका साथै प्यारामेडिकल स्टाफ २१, सरसफाइकर्मी ८ र १० जना प्रशासनिक कर्मचारी पनि खटाइएको नगर प्रमुख सरावगीले जानकारी दिनुभयो । सरावगीका अनुसार वीरगन्जमा कोभिड संक्रमितहरुको संख्या बढ्दो अवस्थामा रहेको र होम आइशोलेसनमा रहेका संक्रमितलाई समेत अक्सिजन दिनु पर्ने अवस्था छ । तर अस्पतालमा उपचार गर्ने ठाउँको कमी भएकाले महानगरपालिकाले आफ्ना नागरिकको जीवन रक्षाका लागि कोभिड अस्थायी अस्पताल तथा आइसोलेशन सेन्टर संचालनमा ल्याएको सरावगीले वताउनुभयो । वीरगन्जमा अहिले हजार भन्दा बढी संक्रमित अस्पतालमा बेड नपाएर होम आइसोलेशनमा रहेका छन । ती मध्ये केहि संक्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधी र अक्सिजन दिनुपर्ने अवस्था भएकाले त्यस्ता संक्रमितलाई कोभिड अस्थायी अस्पतालमा भर्ना गरेर उपचार गरिने सरावगीले बताउनुभयो । होम आइसोलेशनमा अक्सिजन प्रयोग गरिरहेका संक्रमितहरुको अवस्था समेत जटिल बन्न थालेकोले डाक्टरको निगरानीमा उपचार गर्न महानगरपालिकाले कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको उहाँले बताउनुभयो । सरावगीका अनुसार महानगरको कोभिड अस्थायी अस्पताल तथा आइशोलेसनमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधी र खाजा, खाना समेत महानगरपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउने छ । कोभिड संक्रमणको पहिलो लहरका बेला पनि वीरगन्ज महानगरपालिकाले वीरगन्जको गण्डकस्थित गण्डक अस्पताललाई भाडामा लिएर अस्थायी कोभिड अस्पताल संचालन गरेका थियो भने सिद्धार्थ माविमा आइशोलेसन सेन्टर स्थापना गरी सन्चालनमा ल्याएको थियो । त्यस बेला गण्डक कोभिड अस्पतालमा ४०४ जना र सिद्धार्थ माविको आइसोलेशन सेन्टरमा १२३ जना संक्रमितको उपचार गरिएको थियो ।

Leave a Reply