निजगढ,निजगढ नगरपालिकाले निशुल्क एसइइ तयारी कक्षा संचालनमा ल्याएको छ । नगरपालिकाभित्र रहेका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि आगामी एसइइ परीक्षा लक्षित गरेर तयारी कक्षा संचालनमा ल्याईएको हो ।
निजगढ वडा नं ११ स्थित नेपाल राष्ट्रिय माविबाट बिहीवारबाट शुरु गरिएको तयारी कक्षामा विद्यार्थीहरुलाई अंग्रेजी, गणित र विज्ञानको निशुल्क पढाइने निजगढ नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिनुभयो ।कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरथ पुरीले विद्यार्थीहरुको एसइइ परीक्षामा राम्रो नतिजा ल्याउन नगरपालिकाले यस्तो व्यवस्था गरेको जानकारी दिनुभयो । कार्यक्रमले विद्यार्थीहरुको नतिजामा सुधार ल्याउन सहयोग पुग्ने उहाँको भनाई थियो । उहाँले कक्षा ८ का विद्यार्थीहरुको लागि पनि तयारी कक्षा संचालन गरिने बताउनुभयो ।कार्यक्रममा उप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ र ११ का अध्यक्ष सहैया गुरोलगायत विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र विषयगत शिक्षकहरुको उपस्तिथि रहेको थियो ।














