राजकुमार यादव
मौलापुर,रौतहतको यमुनामाई गाउँपालिकालाई एक विशेष समारोहबीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव र जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि अनिल कर्णले पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् ।पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुधिरकुमार सिंहले बताउनुभयो ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकामा १२ वर्षभन्दा माथि उमेरका कोभिड विरुद्वको खोप २१ हजार ४ सय एक जनाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ ।
सोही तथ्याङ्कका आधारमा पालिकाका करिब ९४.८० प्रतिशत कोभिड विरुद्वको खोप पालिका घोषणाका लागि जिल्ला समन्वय समितिसमक्ष पेस गरिएको र स्वीकृत भई घोषणा गरिएको हो । पालिकामा पाँच वटा स्वास्थ्य चौकी र दुईवटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् । साबिकका सरुआठा , राजपुर तुलसी , राजपुर भेरीयाही, जेष्ठरहीया र झुनखुनवा गरी पांच वटा गाविसहरू समेटेर यमुना गाउँपालिका बनेको हो। यस पालिकाभित्र हाल ५ वटा वडा छन् ।
उक्त कार्यक्रममा ५ वटा स्वास्थ्य चौकीका कार्यालय सहयोगीहरुलाई स्वास्थ्य संयोजक सिंहले साइकल वितरण गर्नुभएको थियो । कार्यालय सहयोगी प्रमोद यादव, सुनिल यादव, तपेश्वर मुखिया, अखिलेश प्रसाद अधिकारी तथा शमिकपुर यादवलाई साइकल प्रदान गरिएको हो । सो कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादव, गापा अध्यक्ष शेख साउद, उपाध्यक्ष अनुराधा कुमारी लगायतको उपस्थिति रहेको थियो ।

















