महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराएकी छन्।सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको घोषणा गरेको थियो।
नयाँ प्रधानमन्त्री नियुक्त हुँदा लन्डनस्थित बकिङ्गम राजदरबारमा समारोह आयोजना गर्ने परम्परा यसपालि भङ्ग भएको छ।
मङ्गलवार आफ्नो बिदाइ भाषणमा जोनसनले ट्रसलाई सहयोग गर्न कन्जर्भेटिभ पार्टीका सबैलाई आग्रह गरेका थिए।
त्यसपछि उनले बाल्मोरल गएर महारानीसमक्ष राजीनामा दिएका थिए।
नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ।
यसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनेका थिए।
कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका थिए।
बाल्यकालदेखिको सपना
सात वर्षको उमेरमा विद्यालयमा आयोजित निर्वाचनसम्बन्धी एउटा नाटकमा लिज ट्रसले मार्गरेट थ्याचरको भूमिका निर्वाह गरेकी थिइन्।

तस्बिर स्रोत,PA MEDIA
थ्याचर त्यस बेलाकी प्रभावशाली प्रधानमन्त्री थिइन् र उनले सन् १९८३ मा व्यापक बहुमत पाएकी थिइन्।
तर लिज ट्रसले विद्यालयको नाटकमा थ्याचरको भूमिका निर्वाह गरेको भए पनि त्यस बेला उक्त नाटकमा उनले सफलता पाइनन्।
धेरै वर्षपछि ट्रसले उक्त घटनाको स्मरण गर्दै भनेकी थिइन्, “म त्यस बेला मैदानमा ओर्लिएँ र चुनावी मञ्चमा मन्तव्य दिएँ तर मैले शून्य भोट पाएँ। म आफैँले पनि आफूलाई भोट हालिनँ।”
उनन्चालीस वर्षपछि सोमवार उनी आइरन लेडी भनेर पनि चिनिने थ्याचरले जसरी नै उक्त पदमा पुग्न वास्तविक रूपमै हाम फालिन् र कन्जर्भेटिभ पार्टीकी नेत्री बनिन्।
सबै पाँच चरणका निर्वाचनमा टोरी सांसदहरूले विदेशमन्त्री ट्रसलाई भूतपूर्व अर्थमन्त्री ऋषि सुनकभन्दा पछाडि पारिदिएका थिए।
तर पार्टीका सदस्यहरूले ट्रसलाई बढी मत दिए। उनले ५७ प्रतिशत मत पाइन् भने सुनकले ४३ प्रतिशत मात्र मत पाए।
उनले आफ्नो क्षेत्रमा सम्बन्ध सुमधुर बनाउन वर्षौँ बिताएकी छन्।
ट्रसले प्रधानमन्त्री कार्यकालको सबैभन्दा कठिन घडीमा रहेका बेला बोरिस जोनसनलाई साथ दिएकी थिइन्।
तर विभिन्न हिसाबले उनी परम्परागत सोचाइकी कन्जर्भेटिभ पार्टी सदस्यजस्ती भने होइनन्।
मेरी एलिजाबेथ ट्रस सन् १९७५ मा अक्सफर्डमा जन्मिएकी हुन्।

तस्बिर स्रोत,PA WIRE
उनले आफ्ना पिता गणितका प्राध्यापक र आमा “वाम खेमा”की नर्स भएको बताएकी थिइन्।
बाल्यकालमा उनलाई उनकी आमाले परमाणु निरस्त्रीकरण अभियानका जुलुसहरूमा लिएर जान्थिन्।
त्यस बेला परमाणु निरस्त्रीकरण अभियान चलाउनेहरूले पश्चिमी लन्डनस्थित आरएएफ ग्रीनह्याम कमनमा अमेरिकालाई परमाणु युद्धशीर्ष राख्न दिने थ्याचर सरकारको निर्णयको चर्को विरोध गरेका थिए।साभार बिबिसि


















