हेटौडा,बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।उहाँले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो । हेटौंडाको सानोपोखरामा रहेको उहाँको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उहाँको घरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएर गएको छ ।स्रोतका अनुसार, काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो ।विभाग सम्बद्ध स्रोतका अनुसार, उहाँको सम्पत्ति र कारोबारमा केही अस्वभाविक गतिविधिहरू भेटिएपछि अनुसन्धान अघि बढेको थियो ।

उहाँको घरबाट केही कागजातहरू र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का समेत गरिएको स्रोतले बतायो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध हुनुहुन्थ्यो ।
अहिले पनि विभिन्न व्यवसायीक कम्पनीहरूमा उहाँको लगानी छ ।
मुख्यमन्त्री बानियाँको आपत्ति
हेटौडा,मुख्यमन्त्री बानियाँले आफ्नो घर र कार्यालयहरूमा छापा मारेकोप्रति आपत्ति जनाउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने अवस्थामा छापा मारिएको भन्दै आपत्ति जनाउनुभएको हो ।साथै, आफूले जुनसुकै अनुसन्धानमा पनि सघाउने उहाँले बताउनुभएको छ ।

‘राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुनः स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ,’ उनले भनेका छन् ।उहाँले आफ्ना शुभेच्छुक र शुभचिन्तकलाई चिन्तित नहुन पनि आग्रह गर्नुभएको छ । उहाँले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार उहाँको हेटौंडास्थित घर र व्यवसाय एवं काठमाडौंको नक्साल र सुन्धारामा रहेको कार्यालयमा छापा मारेको थियो ।

त्यसपछि एक विज्ञप्ति जारी गर्दै उहाँले अनुसन्धानमा सघाउन तयार रहेको तर छापा मार्नु आपत्तिजनक रहेको जनाउनुभएको हो ।‘मैले बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययीताका लागि निरन्तर काम गर्दै आएको छु,’ उहाँले भन्नुभएको छ, ‘आवश्यकता र औचित्यतामा आधारित योजना तथा कार्यक्रम र बजेटमा पारदर्शितालाई नीतिगत रूपमा अगाडि बढाइएको बेहोरा सबैको जानकारीमा छ ।’
राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा म सहयोग गर्न तत्पर रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।
‘राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु,’ उहाँले गुनासो गर्दै भन्नुभएको छ, ‘तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।’

Leave a Reply