कृष्णमोहन साह
सेढवा – प्रहरीले स्थानीय युवाहरुलाई कुटपिट गरेको भन्दै ठोरीमा रहेको  ईलाका प्रहरी कार्यालय अगाडि सोमबार स्थानीयले विरोध जनाएका छन् । आइतबार साँझ ठोरी -२ वनशक्तीमा रहेको ठोरी भ्यु होटलमा भएको विवादका बारेमा छ्लफल गर्न गएका स्थानीय युवाहरूलाई ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले गालिगलौज गर्दै हातपात गरेको विरोधमा स्थानीयले टायर बालेर प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
आइतबार साँझ ठोरी -२ वनशक्तीमा रहेको ठोरी होटेल भ्युमा स्थानीय युवाहरू शङ्कर लामिछाने ,रुपेश लामा लगायत युवाहरू र केहि भारतीय नागरिकहरु बीच विवाद भएको थियो । सोही विवाद भैरहेका बेला प्रहरी पुगेपछि विवाद गरिरहेका दुबै पक्ष होटेल छोडेर भागेका थिए । सो क्रममा प्रहरीले स्थानीय युवाहरूको मोटरसाइकल नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयमा राखेको थियो । सोमबार मोटरसाइकल लिन गएका स्थानीय युवाहरू शङकर लामिछाने र सागर लामिछानेलाई प्रहरी निरीक्षकले अपशब्द प्रयोग गर्दै हातपात गरेको एक स्थानीयले बताए । त्यसपछि प्रहरी कार्यालय अगाडि स्थानीयले प्रहरी निरीक्षकले गरेको व्यवहारको विरोध गर्दै केहिवेर टायर बालेर प्रदर्शन गरेका हुन् ।
यसैबीच युवाहरूमाथि प्रहरी निरीक्षकले दुर्व्यवहार गरेको भन्दै स्थानीय विरोधमा उत्रिएर ईलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेपछि ठोरी -२ का वडाध्यक्ष किशोर तामाङ ,सदस्य छलिमाया गुरुङ लगायतका जनप्रतिनिधि र अगुवाहरूको रोहवरमा प्रहरी र पीडित युवाहरूबीच छलफल भएको छ । छलफलमा युवाहरूले पनि अब आइन्दा झैझगडा नगर्ने र प्रहरीले पनि पुर्वाग्रह नराखी स्थानीयसंग मेलमिलाप गरेर  व्यवहार गर्ने सहमति गरेको  वडाध्यक्ष तामाङले बताए । उनले घटना सामान्य भएको बताउँदै प्रहरी र स्थानीय युवाबीच मिलापत्र भैसकेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here