निजगढ,शनीवार बिहान वीरगञ्ज आउन लाग्नुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सिमरा विमानस्थलमा स्वागत गर्न नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले आह्वान गर्नुभएको छ ।शुक्रवार सामाजिक सञ्जालमार्फत पौडेलले भण्डारीको राजनीतिक भूमिकाको प्रशंसा गर्दै यस्तो आव्हान गर्नुभएको हो । ‘सम्माननीय विद्यादेवी भण्डारी नेपाली राजनीतिको एकजना सम्मानित नाम हो । नेकपा एमालेको केन्द्रीय नेतृत्वमा हुँदा होस या सरकारमा हुँदा, दुई पटक उपाध्यक्ष हुँदा या देशको राष्ट्रपतिको रूपमा अत्यन्त गरिमामय ढंगले कुशलतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुभएको छ ।

नेपालमा समावेशिता र महिला सहभागिताको लागि उहाँले इतिहासमै सम्मानयोग्य भूमिका निर्वाह गर्नुभएको छ’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘गणतन्त्रको गौरवको रूपमा सम्मानित गरेको आदरणीय व्यक्तित्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनीवार वीरगञ्जमा हुने महिला उद्यमी सम्मान कार्यक्रमका लागि आउँदै हुनुहुन्छ । बारा जिल्लाको सिमरामा सम्माननीय पूर्वराष्ट्रपतिलाई स्वागत तथा सम्मान गर्नु हामी सबैको कर्तव्य हो ।’

पुर्व राष्ट्रपति भण्डारी वीरगञ्जमा हुने बृहत् महिला सम्मेलन २०८२ मा प्रमुख अतिथिको रुपमा सहभागी हुन सिमरा विमानस्थल हुदै वीरगञ्ज आउन लाग्नुभएको हो । भण्डारीले शनीवार साँझ पर्सा र वीरगञ्जमा पार्टीका नेता कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यसैगरी पूर्वराष्टपती भण्डारीले आइतवार बिहान बाराको गढीमाई मन्दिरको दर्शनपछि कलैयास्थित दरवार होटलमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा सरिक हुने नेकपा एमाले पार्टीका मधेश प्रदेश कमिटीका सदस्य एवम मदन भण्डारी फाउण्डेशन मधेश प्रदेशका अध्यक्ष राजमहम्मद रायले जानकारी दिनुभएको छ ।बारा र पर्साका कार्यकर्ताहरुसंग भेटघाट गरी भण्डारी सोमवार काठमाण्डौं फर्किने कार्यक्रम रहेको रायले जानकारी दिनुभयो ।
गत १४ असारमा एमालेमा फर्किने घोषणा गरी सक्रिय हुन खोजेपछि भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच दूरी बढेकोछ । अध्यक्ष ओलीले आफ्ना पछिल्ला भेटघाट तथा भाषणहरूमा भण्डारीको गतिविधिप्रति असन्तुष्टि जनाउदैआउनुभएको छ ।

Leave a Reply