कृष्ण मोहन साह
सेढवा,पर्सा जिल्लाको जीराभवानी गाउँपालिका पूर्ण साक्षर घोषणा गर्ने प्रक्रिया औपचारिकरूपमा शुरू भएको छ ।
केही महीनाअघि आसमान नेपालले गाउँपालिकाका पाँचवटै वडामा साक्षरतासम्बन्धी विस्तृत सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणका आधारमा शुक्रबार वडा नं ३ लाई पूर्ण साक्षर घोषणा गरिएको छ ।वडा नं ३ को नौकाटोलामा आयोजित एक कार्यक्रममा वडा न. ३ लाई साक्षर घोषणा गरिएको हो । आसमान नेपाल पर्साका फोकल पर्सन धर्मेन्द्र चौरसियाका अनुसार सर्वेक्षणले वडा नं ३ मा ९७ प्रतिशत जनसङ्ख्या साक्षर रहेको पुष्टि गरेको छ ।
वडा नं ३ मा आयोजित कार्यक्रममा वाडा सदस्य रामप्रमोद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोर्ड सदस्य रुना माझी, शिक्षा शाखा प्रमुख शिवराज फुयाल, प्र. अ. रामाशंकर चौधरी, शिक्षक दिनानाथ महतो, सिताराम राय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि हिजो बिहीबार जिराभवानी गाउँपालिकाको वडा नं १ र २ साक्षर घोषणा भइसकेको शिक्षा शाखा प्रमुख शिवराज फुयालले बताउनुभयो । वडा नं १ मा सोमनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामशरण खवासले वडालाई साक्षर घोषणा गर्नुभएको थियो भने वडा नं २ मा सत्यनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष महादेव महतो थारुले साक्षर घोषणा गर्नुभएको हो ।कार्यक्रममा शिक्षा शाखा प्रमुख शिवराज फुयाँल, गोकर्ण सुवेदी, हरि दास, कृपासिन्धु पटवारी, खेमराज महतो, राममोहन सापकोटा, नन्दकिशोर साह, विशाल गुप्ता लगायतले साक्षरता अभियानलाई सफल बनाउन योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पूर्ण साक्षर गाउँपालिका बनाउन निरन्तर प्रयास आवश्यक रहेको बताएका थिए ।
पालिकाले बाँकी वडाहरूमा समेत सर्वेक्षण तथा आवश्यक कार्यक्रम सञ्चालन सकिएको र सोमबारसम्म सबै वडा पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य लिएको फुयालले जानकारी दिनुभयो । साक्षरता अभियानले समुदायमा शिक्षा र सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन सामाजिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये हालसम्म ठोरी गाउँपालिका मात्र पूर्ण साक्षर घोषणा भइसकेको छ ।
यसैबीच, जीराभवानी गाउँपालिकाले पनि आफ्ना वडाबाट अभियान शुरू गरेसँगै जिल्लामा साक्षरता विस्तारको नयाँ चरण शुरू भएको छ ।

















