बारा,बारा जिल्लामा पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि भएको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा पछिल्ला २ महिनामा भएका सवारी दुर्घटनामा परी डेढ दर्जनले ज्यान गुमाएका छन भने दर्जनौं घाइते भएका छन ।जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराका अनुसार चालु आर्थिक वर्ष २०८१-०८२ को दुई महिना नवित्दै साउनमा १३ र भदौमा ३ जना गरी १६ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाइसकेका छन् ।
गत आर्थिक वर्ष २०८०-०८१ मा ७५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। यो वर्ष पनि दुर्घटनाबाट मृत्यु हुनेको संख्या हालसम्म १६ पुगेको छ।
भदौ ३ गते सोमवार राति मानवत मटिअर्वा सडक खण्डको कलैया उपमहानगरपालिकाको खपरतातामा कलैयाबाट धर्मनगरतर्फ जाँदै गरेको ना ५४ प ४७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना २ ह ५३७२ नम्बरको टेम्पु एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो । मृतक २४ वर्षीय रामकान्त पटेल, कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मनगर टोलका बासिन्दा हुन् ।त्यस्तै भदौ ८ गते शनिवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा बा ७५ प ५४५१ नम्बरको मोटरसाइकल चालक ३० वर्षीय आदेश लामाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलको ठक्करबाट पैदल यात्री रिकेश रुम्बा घाइते भएका थिए ।
त्यसैगरी आइतवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ कै आधाभार जंगलमा बिएबी ५०३५ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बा ५८ प ४१४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३७ वर्षीय मानबहादुर प्रधानको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक माधव सिलवालले बारालगायत देशभर सवारी दुर्घटना बढ्दै गएको बताउनुभयो । दुर्घटनाको प्रमुख कारणहरूमा बिना लाइसेन्स सवारी चलाउने, ओभर स्पिड, मापसे गरी सवारी साधन चलाउने र चालकको लापरबाही रहेको उहाँको भनाई छ ।सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले नियमित चेकिङ र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि दुर्घटना न्यूनीकरण नभएको सिलवालको भनाई छ । दुर्घटना न्यूनीकरणका लागि चालकहरुले सचेत हुनुपर्ने र सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ ।
ट्रकमा मोटरसाइकल ठोक्किदाँ घाइते
कलैया,बारको कलैयामा मोटरसाइकलले ट्रकको पछाडि ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
कलैया उपमहानगरपालिका ९ रामपुर चोकमा सोमवार साँझ कलैयाबाट बरियारपुरतर्फ जादै गरेको ज. १ ब ७४० नम्बरको सरकारी प्लेटको मोटरसाइकलले सडकको बायाँ साईडमा रोकी राखेको ना.६ ख १९४३ नम्बरको ट्रकमा पछाडि ठक्कर दिँदा मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ नयकाटोल बस्ने अन्दाजी ३५-४० वर्षीय मनोजप्रसाद यादव गम्भीर घाइते भएका हुन् । यादवको छाती र शरीरको भित्री भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनको प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार मोटरसाइकल र ट्रकसहित ट्रक चालक रौतहटको माधव नारायण नगरपालिका २ खेसरहिया बस्ने अन्दाजी ३० वर्षीय रामविकेस साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।


















