सिमरा,नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रलाई छेडखानी नगर्न चेतावनी दिएका छन् ।तराई मधेस जागरण अभियानलाई निरन्तरता दिन बारा आउने क्रममा बुधवार साँझ सिमरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले हाल केही देशमा सविधान विरुद्ध तत्व सल्बलाएको भन्दै बृहत शान्तिसम्झौता पछि आएको यो संविधान र गणतन्त्रलाई छेडखानी नगर्न चेतावनी दिनुभएको हो ।
संविधानमाथिको छेडखानी गणतन्त्रमाथि मात्रै नभएर यसको अंगको रुपमा रहेको शान्ति सम्झौतामाथि समेत छेडखानी हुने भन्दै प्रचण्डले देशलाई पुनः गृहयुद्धतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाउनुभयो ।‘संविधान र गणतन्त्रमाथि मात्रै होइन् शान्ति सम्झौतामाथि समेत छेडखानी गर्ने काम भईरहेको छ’ प्रचण्डले भन्नुभयो, ‘देशलाई पुनः गृहयुद्धतर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ ।’ शान्ति सम्झौताका अर्का हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जिवित नरहेकाले त्यसको संरक्षण गर्ने जिम्मेवारी समेत आफूमा रहेको प्रचण्डले दावी गर्नुभयो ।
संविधानको अगाडि विकास गर्न आवश्यक रहेको र विकास गर्न पनि सकिने बताउदै उहाँले संविधानलाई पछाडि फर्काउन भने नपाइने उहाँले बताउनुभयो । उहाँले संविधानलाई पछाडि फर्काउनेभन्दा विकास गरेर अघि बढाउन जरुरी रहेको कुरामा उहाँको जोड थियो ।माओवादीले २ साताअघि स्थगित गरेको अभियान बिहीवारबाट सुरू गर्न लागेको हो । माओवादी अध्यक्षसहित माओवादी नेताहरुको टोली बुधवार राति बास बस्ने गरी बाराको ऐतिहासिक तथा धार्मिक स्थल सिम्रौनगढ जानेभएको छ । बिहीवार बिहान अभियान अन्तर्गत तय गरिएका कार्यक्रमहरुमा संचालन गरिने बताइएको छ ।
बिहीवार बिहानको मर्निङवाकदेखि अध्यक्ष प्रचण्डले स्थानीय जनतासँग भेटघाट गर्ने र सिम्रौनगढको कोचर्वामा आयोजना गरिने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र बाराका इञ्चार्ज क्षेत्रबहादुर श्रेष्ठ अनिलले जानकारी दिनुभयो ।
त्यसैगरी माओवादी अध्यक्षले बिहीवार कलैयामा आयोजित सभालाई पनि शंवोधन गर्नुहुने भएको छ । माओवादीले कलैयास्थित भरत चौकमा सडक नै जाम हुनेगरी सभा गर्न लागेको हो । माओवादीले सडकमै टेण्ट गाडेर सभाको तयारी गरेपछि त्यसको सर्वत्र विरोध हुन थालेको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर– १ का वडा सदस्य शशी दास ब्रेटलीले सडक जाम हुनेगरी कार्यक्रम गर्नु गलत कार्य भएको बताउनुभयो । सडक नै अवरुद्ध हुनेगरी सभाको आयोजना गरिए पनि सम्बन्धित निकायले मौनता देखाएको कुनै हस्तक्षेप नगरेकोमा वडा सदस्य दासले दुःख व्यक्त गर्नुभयो । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले भने कार्यक्रम गर्न माओवादीले कुनै अनुमति नलिएको जानकारी दिनुभयो । सभालाई माओवादी केन्द्रका अध्यक्ष सहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।फागुन १२ गतेदेखि झापाको कचनकबलबाट सुरू भएको अभियान फागुन २५ गते रौतहटबाट प्रवेश गर्ने क्रममा स्थगित भएको थियो ।बारा, पर्सा र चितवनमा अभियान सकेर माओवादी नेताहरुको टोली पुनः काठमाडौं फर्कने र त्यसको केही दिनमा गण्डक क्षेत्र प्रवेश गर्ने प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
















