निजगढ,राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले संविधानले परिकल्पना गरेको सम्बृद्ध नेपाल आविष्कार र अनुसन्धानले मात्रै पूरा गर्ने बताउनुभएको छ ।संबिधान दिवसको अवसरमा निजगढ नगरपालिकाले बिहीवार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘संबिधानलाई सर्वस्वीकार्य पार्न देशमा सम्बृद्धि आउनुपर्छ, उहाँले भन्नुभयो, देश आर्थिक रुपमा सवल र सम्बृद्धि भयो भने संबिधानको विपक्षमा बोल्नेहरुको आवाज स्वत निस्तेज भएर जानेछ ।’ जनतामा संबृद्धि आउन सकेन भने संबिधानको बिरोध भइनैरहने उहाँको भनाई थियो ।नेपाललाई सम्बृद्ध पार्ने कदम अहिलेसम्म पनि नचालिएको पुनको भनाई छ । ‘हुन त केही काम भएका पनि छन, तर यस्ता सानातिना कामले देशमा सम्बृद्धि आउनसक्दैन, पुनले भन्नुभयो, यसको लागि देशको अर्थतन्त्रमा सुधार हुन जरुरी छ ।’ विश्वका सम्बृद्ध भनिएका अमेरिका, जापान र बेलायत जस्ता देशमा अर्थतन्त्र सवल भएपछि मात्रै सम्बृद्धि आएको पनि उहाँको भनाई थियो । विज्ञान र प्रविधिको विकास गरेर मात्रै देशलाई विकसित र उन्नत पार्न सकिने उहाँले बताउनुभयो ।
विज्ञान प्रविधिको विकास गर्न प्रतिभा भएका मानिसहरुको पहिचान गरेर उनीहरुलाई देशभित्रै काम गर्ने वातावरणको सृजना गर्नसक्नुपर्ने पनि उहाँको भनाई थियो । ‘तर हाम्रो देशमा त्यस्ता मान्छेले काम गर्ने वातावरण त कता हो कता पहिचान गर्ने काम पनि भएको छैन, पुनले भन्नुभयो, यस्तो अवस्थामा देशमा विकासको परिकल्पना गर्न सकिदैन ।’
नेपालको संविधानले नागरिकको मौलिक अधिकारको बारेमा धेरै कुरा गरेको तर प्रतिभा भएका मानिसहरुको प्रतिभा प्रष्फुटन गराउने बारेमा कुनै कुरा उल्लेख नगरेको पनि उहाँले बताउनुभयो । प्रतिभाशाली मानिसहरुलाई सरकारले आवश्यक स्रोत साधन उपलब्ध गराएर ढुक्कसंग काम गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाई थियो ।
पुनले आफू कुनै ठूलो वैज्ञानिक नभएको बताउदै आफूले जनताको हितको लागि विज्ञान र प्रविधिको प्रयोग मात्रै गरेको पनि बताउनुभयो । ‘विज्ञान प्रविधिको विकास गरेर आम मानिसहरुको भलाइको लागि केही काम गरेको छ, उहाँले भन्नुभयो, तर म कुनै वैज्ञानिक होइन, मैले विज्ञान र प्रविधिको प्रयोग गरेर एक किसिमले समाजसेवा मात्रै गरेको हो ।’कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले वैज्ञानिक पुनको निजगढमा स्वागत गर्न पाउदा आफूहरुलाई खुसी लागेको बताउनुभयो । उहाँले निजगढमा केराको बोटबाट रेसा उत्पादन र त्यसको सामग्री उत्पादन गर्ने औजार आविष्कार गर्न वैज्ञानिक पुनसंग आग्रह गर्नुभएको थियो । नगर प्रमुख पुरीले पुनले लेख्नुभएको ५० थान पुस्तक खरिद गर्ने घोषणा पनि गर्नुभएको थियो ।
मधेस प्रदेश प्रदेश सभा सदस्य मिना लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटा, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, पूर्वजनप्रतिनिधिहरु, निजगढस्थित सुरक्षा निकायका प्रमुखज्यूहरु, विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यसअघि बुधवार आइपुग्नुभएका पुनको नगर उद्योग बाणिज्य संघले निजगढमा स्वागत गरेको छ । किताब बिक्री गर्न निजगढ आइपुग्नुभएका पुनको बाणिज्य संघको कार्यालयमा एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको हो । संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले खादा र माला लगाएर पुनको स्वागत तथा सम्मान गर्नुभएको थियो । निजगढमा शनिवारसम्म बसेर किताब बेच्ने पुनको योजना छ ।
कार्यक्रममा बोल्दै उहाँले दुई सय पच्चिस दिनमा एक लाख ३० हजारभन्दा बढी किताब बिक्री भएको जानकारी दिनुभयो । देशका एक तिहाइ अर्थात तीन लाख नागरिकले मात्रैआफ्नो किताब खरिद गरेपनि करिब १६ करोड जति रकम संकलन हुने र सो रकमले कृषि औजार कारखाना संचालन गर्न सकिने उहाँले सुनाउनुभयो ।पुनले आफ्नो आत्माकथामा आधारित भएर लेखेको एउटा पुस्तकको मूल्य ७ सय ५० रुपैयाँ रहेको छ ।कार्यक्रममा बोल्दै कृषि औजार स्थापना हुनसके झन्डै ६ सयले देशभित्रै रोजगारी पाउने पनि उहाँले बताउनुभयो । कार्यक्रममा बारा उद्योग बाणिज्य संघका पूर्वउपाध्यक्ष ज्ञानेन्द्रप्रसाद चौलागाई, समाजसेवी रविराज दंगाल, पत्रकार जितलाल श्रेष्ठले बोलेका थिए ।कार्यक्रममा संघकी महिला उपाध्यक्ष उषा लामाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघका सदस्य तथा पत्रकार इन्दीप कोइरालाले गर्नुभएको थियो ।
















