सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूको मनपरीमा अंकुश लगाउँदै हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन नगर्न कडा निर्देशन जारी गरेको छ । नगर कार्यपालिकाको कार्यालयबाट औपचारिक पत्र जारी गर्दै उपमहानगरले अबदेखि पूर्व स्वीकृति बिना कुनै पनि विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट पारेको हो ।

पछिल्ला वर्षहरूमा विद्यालयहरूले बारम्बार पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि अनावश्यक आर्थिक भार परेको गुनासो बढ्दै गएपछि उपमहानगरले यस्तो कदम चालेको जनाएको छ । एउटै विषयका पुस्तकहरू वर्षेनी फेरिने प्रवृत्तिका कारण पुराना पुस्तक पुनः प्रयोग गर्न नसकिने अवस्था बनेको र यसले विशेषगरी मध्यम तथा न्यून आय भएका परिवारलाई थप मार परेको तथ्य उपमहानगरको ध्यानाकर्षणमा परेको थियो ।

नगर प्रमुख राजन पौडेलको निर्देशनमा लागू गरिएको यो व्यवस्था अनुसार अब पाठ्यक्रम परिवर्तन वा अन्य अपरिहार्य कारणबाहेक पुस्तक परिवर्तन गर्न पाइने छैन । यदि परिवर्तन आवश्यक परेमा त्यसको ठोस कारणसहित उपमहानगरपालिकाबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ ।

निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा महाशाखामार्फत नियमित अनुगमनलाई तीव्र बनाइने जनाइएको छ । अनुगमनका क्रममा निर्देश उल्लंघन गर्ने विद्यालयमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

उपमहानगरको यो निर्णयले अभिभावकहरूको आर्थिक भार घटाउने, शैक्षिक क्षेत्रमा अनावश्यक खर्च नियन्त्रण गर्ने र पाठ्यपुस्तकमा एकरूपता कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । स्थानीय अभिभावक संजय यादवले यस कदमको स्वागत गर्दै यसले शिक्षामा अनुशासन र पारदर्शिता बढाउने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply