धिरेन्द्र तिवारी
कलैया,बाराको कलैया उपमहानगरपालिका क्षेत्रमा पर्ने मानवत– मटिअर्वा सडक खण्डको एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । कलैयास्थित संस्कार एफएमदेखि दुर्गा माध्यमिक विद्यालय बरेवासम्मको सडक खण्डको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री महम्मद ईस्तियाक राईले शनिवार शिल्यान्यास गर्नुभएको हो ।
लामो समयदेखि मुअब्जा विवादमा अल्झिएको उक्त सडक खण्डमा पर्ने जमिनको मुअब्जा सम्बन्धि समस्या समाधान भएपछि सडकको निर्माण सुचारु भएको हो । जग्गाधनीहरुको मुअब्जा वितरण गर्न संघीय सरकारले १० करोड रूपैया जिल्ला प्रशासन कार्यालय बाराको बैङ्ग खाता पठाइसकेएको मन्त्री राईले सो अवसरमा जानकारी दिनुभयो । अब चाढै नै निर्माण कार्य सम्पन्न हुने र यसमा कुनै किसिमको शंका नगर्न पनि मन्त्री राईले आग्रह गर्नुुभएको थियो ।
शिलान्यास कार्यक्रमका मानवत– मट्टीअर्वा सडक निर्माण गर्ने क्रममा मुअब्जा वितरण लगायतका विषयमा सहयोग गर्न कलैया उपमहानगरपालिका सदैब तयार रहेको कलैया नगर प्रमुख बिनोद साहले बताउनुभयो ।
कार्यक्रमका बारा क्षेत्र नम्बर ३ का संघीय संसद एंव पूर्वमन्त्री रामबाबु कुमार यादवले कलैया उपमहानगरपालिकाका पूर्वनगर प्रमुख राजेश राय यादव र कलैयाका केहि स्थानीय व्यक्तिहरुको कारण लामो समयदेखि सो सडक खण्डको निर्माण कार्य अलपत्र परेको बताउनुभयो । उहाँले अब सडक निर्माण कार्य चाढै पुरा हुने पनि जानकारी दिनुभयो । उहाँका अनुसार ०७९ साल माघ १ गतेभित्र सडक निर्माण कार्य पुरा गरिसक्नु पर्ने पनि संझौतामा उल्लेख छ ।
सोही कार्यक्रममा नेकपा एमालेकी पोलिटब्युरो सदस्य एंव पूर्वमन्त्री ज्वाला साहले निधारित समयमा नै सडक निर्माण कार्य पुरा गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादव,मधेस प्रदेश सभा सदस्य पारस सह, बच्चा राउत अहिर, जिल्ला समन्वय समितिका उपप्रमुख चण्डिका उप्रेतीलगायतको सहभागिता थियो ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग सिंहको सभापतित्वामा सडक शिल्यान्यास कार्यक्रम भएको थियोे ।
३० मिटर चौडाइमा ३.६ किलोमिटर लम्बाइ रहेको सो सडक खण्डको कुल लागत ३६ करोड ५२ लाख रुपैया रहेको छ । २०७८ साल फाल्गुन १० गते २२ करोड २१ लाखमा सो सडक निर्माणको ठेक्का लागेको थियो ।