निजगढ,फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले अप्रत्याशित पराजय बेहोरेपछि बारा काँग्रेसका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप र कारबाहीको माग सुरु भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका श्यामबाबु गुप्ताले निर्वाचनमा अन्तरघात गरेको आरोपमा जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गर्नुभएको छ । उहाँले निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति यादवसहित सात जना नेता, कार्यकर्तामाथि अनुशासनको कारबाही माग गरेर पार्टी केन्द्रीय कार्यालय निवेदन दिनुभएको हो ।

गुप्ताको उजुरीमा बारा जिल्ला उपसभापति अमेरिलाल पाल र संविधानसभा सदस्य शोभाकर पराजुलीलगायतको नाम उल्लेख छ । यस्तै क्षेत्र नम्बर ४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृष्णव्रत सिंह, बारा– ४ (ख) का सभापति सुमनकुमार भट्टराई र जीतपुरसिमरा नगर कार्यसमिति सभापति छाविलाल शर्मामाथि पनि कारबाही गरिनुपर्ने उहाँको माग छ ।
निर्वाचन हराउनका लागिपरेका भन्दै उहाँले पत्रमा लेख्नुभएको छ, ‘तत्काल यिनीहरूलाई पार्टीको सदस्यताबाट निष्कासन गरिदिन हुन अनुरोध गर्दछु ।’यसअघि बारा– २ का उम्मेदवार रहेका भैयारामप्रसाद यादवले पनि जिल्ला अध्यक्ष राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न माग गर्नुभएको थियो ।

त्यसअघि बारा सभापति यादवसहितका १६ जनालाई निर्वाचनमा अन्तर्घात गरेको दाबीसहित बारा– ३ का क्षेत्रीय सभापति प्रभावकुमार चौरसियाले पनि केन्द्र समक्ष सिफारिस गर्नुभएको थियो ।उता, चौरसियाले पार्टीलाई नोक्सान पु¥याउने गतिविधि र षडयन्त्रमा गरेको भन्दै क्षेत्रीय प्रतिनिधि सभा क्षेत्र नं. ३ समितिका ६७ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले चौरसियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन ।

प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का कार्यवाहक सभापति हरिप्रवेश यादवले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै चौरसियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको जानकारी दिनुभएको हो ।निर्वाचनमा अन्तरघात गरेकोभन्दै चौरसियाले फागुन १८ र २३ गते विज्ञप्ति निकालेर जिल्ला सभापति राजेश राय यादव र हरिप्रवेश यादवलगायत १६ जना नेता कार्यकर्ता विरुद्ध काराबाहीको लागि पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरेपछि हरिप्रवेशको समूहले पनि चौरसियाविरुद्ध अविश्वसाको प्रस्ताव दर्ता गरेको हो ।

हरिप्रवेशले जारी गरेको विज्ञप्तिमा चौरसिया क्षेत्रीय समितिको सभापति पदमा नरहेका पनि जनाइएको छ । क्षेत्रको सभापति नै नरहेको व्यक्तिले आफूलगायत जिल्ला सभापति राजेशराय यादव, प्रतिनिधि सभा क्षेत्र नं. २ का सभापति रामप्रवेश यादवसहितका नेतालाई कारबाहीको लागि सिफारिस गरिएको व्यहोराको पत्र सार्वजनिक भएपछि सो कार्यले पार्टी संगठनलाई क्षति पु¥याएको विज्ञप्तिमा लेखिएको छ ।

क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएका काँग्रेस सहमहामन्त्री फरमुल्लाहा मन्सुर रास्वपाका उम्मेदवार अरविन्द साहसंग ३० हजार भन्दा बढी मतान्तरमा पराजित हुनुभएको थियो । त्यसैगरी क्षेत्र नम्बर ४ मा काग्रेस उम्मेदवार गुप्ताको जमानतसमेत जफत भएको थियो ।

Leave a Reply