वीरगञ्ज,पर्साको पटेर्वासुगौली गाउँपालिकामा लागेको भाठा मेलामा दर्शन गर्न आउँदै गरेका मकवानपुरका दुई जना सम्पर्कविहिन भएका छन् ।पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ मा अवस्थित दुधेश्वरनाथ महादेव (भाठा मेला) मन्दिरमा दर्शन गर्नको लागि मकवानपुरबाट आएका दुईजना सम्पर्कविहिन भएका हुन् ।
ठोरीबाट जङ्गलको बाटो भएर मेलातर्फ जादै गरेका ६ जनामध्ये ४ जना सम्पर्कमा रहे पनि दुई जना शीतलपुर खोला नजिकबाट सम्पर्कविहीन भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
मकवानपुरको शितलपुर खोला र दुधेश्वर महादेव मन्दिर बीचमा पर्छ । सो खोला नजिकै हात्तीको बथान रहेको हुँदा उनीहरु हात्तीको आक्रमणमा परेकोे हुनसक्ने आशंका गरिएको छ ।हराएका दुईजनालाई पर्सा राष्ट्रिय निकुञ्जका गढुवा लाइन पोष्ट र ईलाका प्रहरी कार्यालय ठोरीको टोलीले खोजी कार्य गरिरहेको पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रहरीसँगै नेपाली सेना तथा वन र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बेपत्ताहरुको खोजी कार्य जारी राखेको हो । जंगल क्षेत्रमा मोबाइल फोनको नेटवर्क नभएकोले अन्य जानकारी आउन नसकेको उहाँको भनाई छ ।
















