पाठकवृन्द, आजभन्दा ठीक २२ वर्षअगाडि बारा जिल्लाको कलैयामा प्रशासन कार्यालयमा रोपिएको कृपा दैनिक पत्रिका आजबाट थप लर्के जवान हुदै अगाडि बढ्दै गइरहेको छ ।
बारा जिल्लाबाट प्रकाशित भएको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिका पनि युवा अवस्थामा प्रवेश गरी अगाडि बढ्दैछ भन्न पाउँदा हामीलाई गर्वको अनुभूति भइरहेको छ । हुन त् जसरी मानिस जन्मन्छ, बाल्यकाल पूरा गर्दै किशोर अवस्था पनि पूरा गरी युवा अवस्थामा प्रवेश गर्दछ ।
त्यसरी नै पत्रिकालाई हुर्काउनका लागि पनि हामीले कम्ती संघर्ष पक्कै गर्न परेको छैन तैपनि यहाँहरुको साथ, सद्भाव र ममताका कारण सबै पीडा भुलेर शितल छहारीमा बसे झैं लाग्ने गर्दछ ।यहाँहरुले देखाउने ममताका कारण नै पत्रिका प्रकाशनमा झेल्न परेको पीडालाई भुसुक्क बिर्सनु परेको छ । यसो भन्दैमा पत्रिका संचालनका लागि चुनौती नै थिएनन् र छैनन् भन्ने पनि होइन । बाराको उर्वर भूमिमा पत्रिका प्रकाशन गरेर समाजलाई रुपान्तरण गर्ने अभियान सांच्चै भन्ने हो भने फलामको चिउरा चपाउनु जस्तै थिए जुन संभव हुने कुरै भएन । तैपनि हामीले यो जोखिम मोलेरै अगाडि बढ्यौं ।
बाराका नागरिकहरुको सूचनाको भोक मेटाउनका लागि फलामकै चिउरा चपाएर नै भएपनि यो अभियान संचालन गर्नुपर्छ भनेर कृपा प्रकाशन समूहले तपाईलाई सूचित गराउने लक्ष्य लियो र आज युवा अवस्थामा छ । २१ जर्षदेखि निरन्तर तपाईको माझमा हामी अविचलित छौं । बारामा करिब दशकअघि मात्रै संचारको रुपमा हामी एक्ला थियौं । अब जिल्लामा हामी मात्रै एक्लै छैनौं । अहिले हामीजस्तै दैनिक पत्रिका नै बाराको कलैयाबाट प्रकाशित छन् ।
बारामा रेडियोहरु पनि गाउँगाउँसम्म खुलेका छन् । कृपा दैनिकले शुरु गरेको सूचनाको हक आम नागरिकसम्म पु¥याउने अभियानमा अन्य संचारमाध्यामले साथ दिएको बुझाइ हाम्रो हो र संचारमाध्यामसंगै संचारकर्मीको पनि बिस्तार र विकास हुनुमा कृपाले हामीलाई जहिले पनि गर्व सूचिमा राख्दछ र यसको श्रेय पनि आफूले लिन्छ । संचारको विकासले अझै हामीलाई बढी जिम्मेवार र अभिभाकत्वको भुमिकामा रहनका लागि सुझाएको महसुस गर्दै आएका छौं ।
जिल्लाको सबैभन्दा पुरानो दैनिक पत्रिका भएका नाताले हामी प्रकाशनमा सवालमा फलामै चिउरा चपाउन परे पनि आर्थिक रुपमा निकै कमजोर भएपनि तपाईको सूचना पाउने अधिकार र अब रहर पनिलाई मार्न दिने छैनौं । अभिभाककत्व भूमिकामा पनि कुनै कन्जुस निभाउन पछि पर्ने छैनौं । हामीलाई तपाई सबै पाठकको साथ, सहयोग र सुभेच्छा पाए हाम्रा लागि यही धन्य हुनेछ । यहाँहरुको अपार मात्रै होइन अनुपम ममता अनि साथ र सहयोगले नै कृपा दैनिक आज यो अवस्थामा पुगेको भन्न पाउदा हामीलाई निकै गर्वको महसुस हुन्छ ।
कृपा दैनिक बारामा संचालन गर्नु र प्रकाशन गर्नुको एक मात्र लक्ष्य भनेको बाराको समाजलाई सूचनाको पहुँचमा ल्याउनु नै थियो र यो लक्ष्यमा कृपा दैनिक सफल भएको छ भन्ने कुरा यसै पनि प्रमाणित भएकै छ ।
कृपा दैनिक पत्रिका अन्य क्षेत्र जस्तै विगतमा आएको विश्वव्यापी कोरोना भाइरस अनि त्यसको असरबाट पनि अछुतो रहन सकेन । कृपा दैनिक संचालक परिवार, पत्रकार तथा कर्मचारी समेत यस भाइरसबाट अछुतो नरहे पनि कोरोनाको कहरमा समेत पत्रिका बन्द नगरी सूचना प्रवाह नै गरिरहेका थियौं । आर्थिक रुपबाट हामी निकै मारमा परे पनि यहाँहरुको सूचनाको भोक मेटाउने काममा हामी कहिल्यै पछाडि परेका छैनौं र पर्ने पनि छैनौं । अन्तमः हामीले २२औं बार्षिकोत्सव मनाइरहँदा वा २३औं वर्षमा प्रवेश गरिरहदाँ फेरि हामीलाई सहयोग गर्ने विज्ञापनदातालाई कहिल्यै भुल्न सक्दैनौं । नियमित रुपमा विज्ञापन उपलब्ध गराइ पत्रिकाको प्राण धान्न भूमिका निभाउनु हुने तपाई बिज्ञापनदाता, नियमित पत्रिका पढेर पत्रिकामा रहेका कमीकमजोरी औंल्याइदिने तपाई सचेत पाठक वर्ग, बाराका सबै संचारकर्मीहरु जसले कृपा पत्रिकाका लागि कुनै न कुनै हिसावले योगदान गर्दै आउनु भएको छ अनि पत्रिका प्रकाशनमा स्थापना होस् या पछिल्लो समयमा साथ दिने सबै कर्मचारी तथा कृपा दैनिकमा आवद्ध सबै टीमलाई धन्यवाद दिदै आगामी यात्राका लागि पनि कृपा दैनिक सदैव यहाँहरुको साथमा रहन चाहन्छ ।
दुष्यन्त चौधरी
प्रवन्ध संचालक


















